बिहीबार, चैत १५, २०८०

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

नेपालखोज २०७६ पुष १५ गते ९:२१

१५ पुस, ठिनी । हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले जानकारी दिए । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । गुइँठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक सडक बनाउने प्रयास गरे पनि सफल भएको थिएन ।

बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सीमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताए । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगतरूपमा रु पाँच हजार पुरस्कार दिएको बताए ।

प्रतिक्रिया