बुधबार, असार १८, २०८२

माइती नेपालद्वारा ९५ महिला तथा बालिकाको उद्धार

नेपालखोज २०७६ पुष १६ गते ८:४४

१६ पुस, विराटनगर । माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

अठार वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए । यस क्षेत्रबाट उद्धार गरिएकामध्ये भारतसहित नेपालका १८ जिल्लाका बालिका र महिला रहेका छन् ।

यसरी उद्धार गरिएकामध्ये मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश महिला रहेको पोखरेलले बताए । यस्तै सो अवधिमा घरेलु हिंसाबाट पीडित १६, करणी भएका तीन, दुईलाई अदालतमा मुद्दा दर्ता, हराएका छ महिला फेला पार्नुका साथै ९५ जनालाई पुनःस्थापना केन्द्रमा राखिएको थियो ।

प्रतिक्रिया