शुक्रबार, वैशाख ७, २०८१

दैलेखमा धान उत्पादनमा कमी आयो

नेपालखोज २०७६ पुष १७ गते १०:१८

१७ पुष, दैलेख । दैलेखमा ७ दशमलव ९० प्रतिशतले धान उत्पादनमा कमी आएको छ । समयमै पानी नपरेकाले धानको उत्पादन घटेको हो । आर्थिक वर्ष २०७५÷७६ को तुलनामा चालू आवमा ७ दशमलव ९० प्रतिशतले उत्पादन घटेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार चालू आवमा दैलेखमा २४ हजार २ सय ५४ मेट्रिक टन धान उत्पादन भएको छ । जसमध्ये बर्खेधान १९ हजार ८ सय १५ र घैया धान ४ हजार ४ सय ३९ मेट्रिक टन धान उत्पादन भएको हो ।

गत वर्ष २६ हजार ३ सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । ८ हजार ३ सय ७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले बताए । ‘गत साउन अन्तिमसम्म पनि पर्याप्त पानी नपरेकाले धान उत्पादन घटेको हो,’ उनले भने । जिल्लाको आठबिस, चामुण्डा विन्द्रासैनी नगरपालिका, भैरवी, नौमुले, डुंगेश्वर गाउँपालिकालगायत क्षेत्रमा बढी उत्पादन हुने गर्छ ।
जिल्लामा ४३ हजार १ सय २१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ३४ हजार ४ सय ९७ हेक्टरमा खेती गरिन्छ । कुल खेती गरिएको २७ प्रतिशत अर्थात् ९ हजार ६ सय ३८ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।

‘उत्पादकत्व बढाउने लक्ष्य लिइए पनि बर्से्नि उत्पादन घट्दो छ,’ पाण्डेले भने । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र धान रोपिसकेपछि पनि सिँचाइको अभावका कारण उत्पादन घटेको पाण्डेको भनाइ छ । जिल्लामा धानखेती लगाउने क्षेत्रफल बर्से्नि घट्दो क्रममा छ । कार्यालयको तथ्यांकअनुसार धान खेतीका लागि ९ हजार ६ सय ३८ हेक्टर जमिनमा सिँचाइको व्यवस्था भए पनि मौसमी सिँचाइ ७ हजार १ सय ९ हेक्टर र वर्षभरि सिँचाइ हुने २ हजार ५ सय २९ हेक्टर छ । जिल्लामा धान खेतीका लागि सम्बन्धित निकायले सिँचाइको सुविधा उपल्ब्ध गराएमा धान उत्पादन बढ्ने पाण्डेको भनाइ छ । ‘उन्नत प्रविधि, सिँचाइ सुविधा र हिउँदे धानखेतीलगायत धान उत्पादन दोब्बर हुन्छ । हावा पानीका हिसाबले पनि दैलेख धान खेतीका लागि उपयुक्त मानिन्छ,’ पाण्डेले भने ।

नेपालमा बर्से्नि २५ देखि ३० अर्ब रुपैयाँभन्दा बढीको धान–चामल विदेशबाट आयात गर्नुपरेको छ । खाद्यान्नको माग बढ्ने तर उत्पादनमा चाहिँ गिरावट आउने समस्याले नेपालको कृषिक्षेत्र विगत केही दशकयता थलै परेको छ ।

प्रतिक्रिया