बिहीबार, वैशाख १३, २०८१

आन्तरिक विवादका कारण केयूमा पठनपाठन बन्द

नेपालखोज २०७६ पुष १७ गते ११:०९

१७ पुस, काठमाडौं । आन्तरिक विवादका कारण काठमाडौं विश्वविद्यालय (केयू)मा पठनपाठन बन्द भएको छ । आन्दोलन विगतदेखि नै हुँदै भए पनि पठनपाठन रोकिएको थिएन ।

तर मंगलबारदेखि पहिलो पटक विश्वविद्यालयमा सबै पठनपाठन बन्द भएको छ । ‘यसअघिका आन्दोलनमा कार्यकक्षहरुमात्र बन्द हुन्थे, तर अहिले त पठनपाठन नै अवरुद्ध भएको छ,’ काठमाडौं विश्वविद्यालयका एक कर्मचारीले भने ।

काठमाडौं विश्वविद्यालयमा आन्दोलन हुनु सामान्यजस्तो भइसकेको छ । कहिले पेशागत हकहितको मागले, कहिले विश्वविद्यालय सभामा प्रतिनिधित्वको विवादले र कहिले पठनपाठनको वातावरण नभएको भन्दै आन्दोलन हुने गरेको छ । २०७३ माघमा पढ्ने वातावरण नभएको भन्दै विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमै एक घण्टासम्म पढेर सांकेतिक विरोध जनाएका थिए । यस्तै गत साउन महिनामा प्राध्यापक र कर्मचारीहरुले परीक्षा सञ्चालन बहिस्कार गरेपछि विश्वविद्यालयले विद्यार्थीहरुलाई नै गार्ड राखेर अन्डर ग्राजुयट लेभलको फाइनल परीक्षा लिएको थियो ।

पछिल्लो कुरा गर्ने हो भने प्राध्यापक तथा कर्मचारीहरु विगतमा भएका सहमति कार्यान्वयनको माग राख्दै आन्दोलनमा छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले स्कुल अफ ल, स्कुल अफ साइन्स, स्कूल अफ इन्जिनियरिङ, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज, परीक्षा नियन्त्रकको कार्यालय र प्रशासनिक भवनहरुमा तालाबन्दी गरेका छन् ।

बुधबार धुलिखेल अस्पताल परिसरमा रहेको स्कुल अफ मेडिकल साइसेन्जमा ताला लगाउने र ताला लगाउन नदिने समूहबीच विवाद भएको थियो । उनीहरुबीच धकेलाधकेल भएपछि प्रहरी आएर रोकेको थियो । जसका कारण डिनको कार्यालयमा ताला लागे पनि सहायक डिनको कार्यालयमा भने ताला लाग्न पाएन ।

प्रतिक्रिया