शुक्रबार, चैत १६, २०८०

दृष्टिबिहिन विद्यार्थी बमबहादुरले हात पारे सुदूरपश्चिम स्पिकिङ आइडलको उपाधी

नेपालखोज २०७६ पुष १७ गते १७:२१

१७ पुस, लम्की कैलाली । सुदूरपश्चिम प्रदेशस्तरीय ‘क्लासिक स्पिकिङ आइडल–२०१९’ को उपाधि षोडसा मावि अछामका दृष्टिबिहिन विद्यार्थी बमबहादुर बिकले जितेका छन् ।

क्लासिक ग्रुपको आयोजनामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भएको छनौट प्रतियोगितामा सहभागी मध्येबाट छानिएका १९ वर्ष मुनिका ७२ जना विद्यार्थीलाई उछिन्दै षोडसा मावि मंगलसेन, अछाममा कक्षा १० मा अध्यनरत विकले उपाधि जिते । उनले नगद एकलाख पुरस्कार सहित मेडल तथा प्रमाणपत्र हात पारेका छन ।

सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट ८ जनालाई छनौट गरी ७२ जनाका बिचमा अन्तिम प्रतिस्पर्धा गराइएको थियो । अन्तिममा धनगढीमा दुई चरणमा प्रतिष्पर्धा गराएर शीर्ष १० जना छानिएको थियो ।

आयोजक क्लासिक ग्रुपका धिरज जोशीका अनुसार २०७६ साल मंसिर २५ देखि पौष १२ गतेसम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा अडिसन राउण्ड भएको थियो भने पौष १३ देखि १५ गतेसम्म धनगढीको रुबस होटेलमा शीर्ष १० जनाका बिचमा विजेताका लागि अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।

अडिसनबाट छानिएर आएका सहभागीहरुलाई धनगढीमा ‘उत्कृष्ट वक्ताहरु’ बाट बोल्ने संस्कार र समाजिक उत्तरदायित्वसम्बन्धी अभिमुखिकरण पनि गराइएको थियो ।

विद्यार्थीहरुमा संस्कार, समानुभूति, शिक्षा र सम्भावनाप्रति उत्सुक र जानकार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जोशीले बताए ।
अछामको तुर्माखाद गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा बि। क। लाई समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा तथा विशिष्ट अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

बिजेता बि. क. ले आगामी अप्रिल महिनामा युएनको आयोजनामा हुने एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापासंगै विदेश भ्रमणको अवसर समेत पाउने भएका छन ।— रंगप्रसाद तिमिल्सैना

प्रतिक्रिया