शुक्रबार, वैशाख २६, २०८२

राष्ट्रिय सभा निर्वाचनको उजुरीउपर छानविनको आज अन्तिम नामावली प्रकाशित हुने

नेपालखोज २०७६ पुष १८ गते ८:५८

१८ पुष, काठमाडौँ । माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उजुरीउपर छानविन गरी अन्तिम नामावली आज शुक्रबार प्रकाशित गरिने छ । माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि हिजो बिहिबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले सम्बन्धित प्रदेशका मतदाताको संख्या प्रकाशित गरेका छन् ।

हिजो विहिबार बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन र ११ बजेदेखि ४ बजेसम्म नामावलीउपर दाबी विरोधको उजुरी दिने कार्य गरिएको थियो । यसरी सातवटा प्रदेशका प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र ७ सय ५३ स्थानीय तहतर्फका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन् ।

उनीहरूको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ । कार्यक्रम अनुसार २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । मनोनयन दर्ता भएका उम्मेदवारको नामावली पनि सोही दिन प्रकाशित गरिनेछ । त्यसैगरी २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयन र उजुरीउपर छानविन गरी निर्णय गर्ने र २३ गते नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ ।

२४ गते उम्मेदवारको नाम फिर्ता गर्ने प्रक्रिया पूरा भएपछि २५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ । मतदान भने माघ ९ गते हुनेछ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारबाट मनोनित १ गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिदैँछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नु पर्छ ।

प्रतिक्रिया