बिहीबार, वैशाख १३, २०८१

सुन्तला, आलु र दूध बेचेर आम्दानी बढाइदैँ किसान

नेपालखोज २०७६ पुष १८ गते १५:५६

१८ पुष, बलेवा । काठेखोला गाउँपालिकाले उच्च पहाडी बस्तीका सबै किसानलाई आलु खेतीमा लाग्न आग्रह गरेको छ । ती क्षेत्रलाई गाउँपालिकाले ‘आलु पकेट’ घोषणा समेत गरेको छ ।

उत्पादनलाई बजारमा पहुँच बढाउन तथा तत्काल बिक्री गर्न नसक्ने स्थानको भण्डारण गर्न गाउँपालिकाले लगानी समेत गरेको छ । सो गाउँपालिकाका अध्यक्ष अमर थापाले बीउ, प्रविधि र औजारमा पालिकाले सहयोग बढाएको र हरेक वडाका पाँच युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लगाउने योजना रहेको जानकारी दिनुभयो ।

काठेखोलाका हरेक वडाका उच्च क्षेत्रमा आलुको व्यावसायिक उत्पादन भइरहेको छ । वडा नं ८ को का देश, वडा नं. ७ को रेश र वडा नं ३ को धम्जामा आलु उत्पादन हुन्छ । उहाँले कृषि पेशा गरिरहेका युवालाई प्राविधिक तालिम दिँदा रोग किरा लाग्दा उपचार आफँै गर्नसक्ने अवस्था आउने बताउनुभयो । काठेखोलाको धम्जामा दुई वटा आलु भण्डारन केन्द्र सञ्चालनमा आएका छन् ।

बागलुङको ढोरपाटन र ताराखोलामा पनि प्रशस्त आलु उत्पादन हुन्छ । ती स्थानमा आवश्यक भण्डारणस्थल बनाउन पहल शुरु भएको छ । ताराखोला गाउँपालिकाले आलु उत्पादन मात्र नभई परिकार बनाउने उद्यमी बनाउन लगानी शुरु गरेको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । “हामीले घरघरमै उद्यमी बनाउने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “यसका लागि टोलटोलमा तालिम दिएर उत्पादनकै लागि लगानी गरिरहेका छौँ ।”

धम्जा, ताराखोल र ढोरपाटनका किसानले आलु उत्पादनबाट वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गरिहेका छन् । काठेखोलाले आलुबाहेक सुन्तलामा लगानी बढाएको छ । अघिल्लो वर्षको तुलनामा चालू वर्ष असिना र अन्य प्राविधिक कारणले उत्पादन कम भएको वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । तर उत्पादन बढाउन बिरुवा रोप्ने काम भइरहेकाले दोब्बर बढी फलाउने लक्ष्य केही वर्षमा पूरा हुनेसमेत उहाँले जानकारी दिनुभयो । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा काठेखोलामा सबैभन्दा ठूलो कृषि भण्डारण बनाउन शुरुआत गरिएको छ ।

प्रतिक्रिया