बिहीबार, वैशाख ६, २०८१

विपन्न परिवारका झुपडीका छाना फेरिँदै

नेपालखोज २०७६ पुष २० गते ११:५४

२० पुस, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का विपन्न परिवारका झुपडीका छाना फेर्ने कार्य अगाडि बढाइएको छ । वडा कार्यालयले विपन्न परिवारको छनोट गरी प्लाष्टिक, त्रिपाल, घाँस र खरले छाएका झुपडीका छानामा जस्तापाता राख्न थालेको हो ।

झुपडीमा बस्दै आएका परिवारलाई निःशुल्करूपमा वडा कार्यालयले जस्तापाता उपलब्ध गराउन थालेपछि विपन्न परिवारले सुरक्षित तरिकाले बस्न पाएका छन् । जस्तापाता पाएपछि खुशी व्यक्त गर्दै स्थानीयवासी करन नेपालीले यस वर्षको वर्षात्मा सहजरूपमा बस्न पाइएको बताए ।

त्रिपालको छाना फेर्न नसक्दा वर्षात्का बेला पूरै पानी झुपडीमा चुहिँदा अनिदोमै रात बिताउनुपर्ने अवस्था थियो । “हावाहुरी आउँदा झुपडीको छत नै उडाएर लैजाँदा खुला आकाशमा बस्नु पर्दथ्यो,” उनले भने, “परिवारसँगै झुपडीभित्रको सामान जोगाउ मुस्किल हुथ्यो, वडा कार्यालयले उपलब्ध गराएको जस्तापाताले परिवार सुरक्षित भएको छ ।”

वडा क्षेत्रमा रहेका विपन्न अवस्थाका ५० परिवारमध्ये १२ परिवारको झुपडीमा जस्तापाता राखिएको छ । प्लाष्टिक र घाँस राखिएका झुपडीका छानामा जस्तापाता राख्ने कार्य शुरु गरेका छौँ, वडाध्यक्ष हिमालय चन्दले भने, “सुरक्षित बसोबासका लागि काम अगाडि बढाइएको छ ।”

गत वर्ष झुपडीमा बस्दै आएका नौ परिवारलाई जस्तापाता उपलब्ध गराइएकामा यस वर्षको हालसम्म तीन परिवारलाई जस्तापाता उपलब्ध गराइएको उनले बताए । जस्तापाताका लागि गत वर्ष रु एक लाख बजेटको व्यवस्था गरिएकामा यस वर्ष रु एक लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ । आउदो वर्षसम्म वडाका सबै विपन्न परिवारका झुपडीमा जस्तापाता लगाउने वडा कार्यालयको योजना रहेको छ । झुपडीमा बस्दै आएका अधिकांश परिवार दलित समुदायका छन् ।

प्रतिक्रिया