बुधबार, वैशाख १२, २०८१

मानव–वन्यजन्तुबीचको द्वन्द्व भयावह बन्दै

नेपालखोज २०७६ पुष २१ गते १६:०१

२१ पुस, काठमाडौँ । पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्वका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा वन्यजन्तुको आक्रमणबाट मुलुकभर १५ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै ३७ जना सख्त घाइते र २६ जना सामान्य घाइते भएका छन् ।

वन तथा वातावरण मन्त्रालयले यस अवधिमा वन्यजन्तुबाट भएको सम्पूर्ण क्षतिपूर्तिका लागि झण्डै रु चार करोड राहत वितरण गरेको छ । वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको घटनामा रु एक करोड ५० लाख, सख्त घाइते भएको घटनामा रु ६० लाख ७९ हजार ४०३ र सामान्य घाइते भएको घटनामा रु तीन लाख ६८ हजार १४७ रकम राहत वितरण गरेको मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

यसैगरी पशुधनको क्षतिमा रु ६४ लाख ४० हजार २८०, अन्नबालीको क्षतिमा रु ८१ लाख आठ हजार ९४१, घरगोठ क्षतिमा रु ३४ लाख ३२ हजार ७०० र भण्डारण गरेको अन्नबालीको क्षतिमा रु १४ लाख ७९ हजार ६२० राहत वितरण गरिएको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनाका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको छ ।

मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै

विभागका अनुसार हात्ती, बाघ, चितुवा र गैँडाको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । गत आवमा मुलुकभर वन्यजन्तुको आक्रमणबाट जम्मा ३० जनाको मुत्यु भएको थियो भने विभागले वन्यजन्तुबाट भएको क्षतिमा कूल रु आठ करोड ९० लाख ८४ हजार राहत वितरण गरेको थियो । आव २०७३र७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वका कारण २२ जना मानिसको मृत्यु भएको थियो भने आव २०७४र७५ मा करिब एक दर्जन व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ ।

वन्यजन्तुको आक्रमणबाट मुत्यु भएका व्यक्तिका परिवारलाई रु १० लाख, सामान्य घाइते भएकालाई बढीमा रु २० हजार र सख्त घाइते भएका व्यक्तिलाई रु दुई लाखसम्म राहत दिनुपर्ने कानूनी प्रावधान छ । सख्त घाइतेको हकमा रु दुई लाखले अपुग भएमा उपचारको सम्पूर्ण खर्च विभागले व्यहोर्ने तर उपचार भने सरकारी अस्पतालमा हुनुपर्ने व्यवस्था छ ।

यसैगरी क्षतिको कृषि बाली क्षतिका सम्बन्धमा बढीमा रु १० हजार ९एक मौसममा दुई पटकसम्म०, पशुधनको क्षतिमा प्रति ठूला जनावर (गाई, गोरु, भैँसी) को मृत्यु भएमा रु ३० हजार र अन्य साना जनावरको हकमा रु १० हजार राहतस्वरूप दिने गरिएको छ । अन्न भण्डारण क्षति भएमा र घरगोठ क्षति भएमा बढीमा रु १० हजार राहत दिने व्यवस्था रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

तनहुँमा चितुवाको निसानामा बालबालिका

तनहुँमा पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढ्दै गइरहेको छ । तनहुँको भानु नगरपालिकामा विगत २० महिनाको अवधिमा नरभक्षी चितुवाहरुले मानव बस्तीमा पसी आक्रमण गर्दा आठ बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय, तनहँुका डिभिजनल वन अधिकृत केदार बरालले जानकारी दिए। चितुवाकै आक्रमणबाट सात बालबालिका घाइते भएका थिए ।

मानव बस्तीमा चितुवा प्रवेश गरी खासगरी बालबालिकालाई आक्रमण गर्न थालेपछि जिल्लास्थित डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नगरपालिका र स्थानीय सामुदायिक वनका पदाधिकारीले संयुक्तरूपमा नरभक्षी चितुवा नियन्त्रणका विभिन्न प्रयासहरु जारी राखेको उनले बताए । वन कार्यालयले चितुवा हिँड्ने बाटोका विभिन्न स्थानहरुमा बाख्रासहितको फलामका खोर तथा खुट्टामा लाग्ने पासो राखेर हालसम्म आधा दर्जन चितुवा नियन्त्रणमा लिई चितवन र रुपन्देहीमा स्थानान्तरण गरेको छ ।

घटनास्थल आसपासको वन क्षेत्रको अनुगमन गरी हेर्दा चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वन क्षेत्रमा कम रहेका कारण चितुवाहरु मानव बस्तीमा प्रवेश गरी साना उमेरका बच्चालाई आक्रमण गर्ने गरेको डिभिजनल वन अधिकृत बरालले बताए ।

मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण प्रयास जारी

मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना’मार्फत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विभिन्न कार्यक्रम अघि सारेको जनाएको    छ । वन्यजन्तुको बढी आक्रमण हुने क्षेत्रमा सोलारजडित तारबार (फेन्सिङ) राख्नाका साथै जनचेतनामूलक कार्यक्रम नियमितरूपमा गरिरहेको मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

साथै विभागले संवेदनशील मानव बसोबास क्षेत्रमा भौतिक पर्खाल, तारबार र अवरोध निर्माण गर्ने सोलार र विद्युतीय तार राख्ने, ट्रेन्च खन्ने, टावर र मचान बनाएर सूचना दिनेलगायतका कार्य गर्दै आएको छ । हात्तीबाट बढी प्रभावित झापा, कोशी टप्पु, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा टावर बनाएर साइरन राखेको तथा बर्दियामा बस्तीमा हात्ती आएको खबर स्थानीय जनताको मोबाइलमा सन्देश आउने व्यवस्थासमेत शुरु गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै समुदायमा आधारित सचेतना कार्यक्रम निरन्तर गरिएको र स्थानीयवासीसँग वन्यजन्तुका आनीबानीसम्बन्धी अनुभव आदानप्रदानसमेत गर्ने गरिएको छ । विभागले संरक्षण क्षेत्रमा सवारीसाधनबाट वन्यजन्तुमाथि हुने क्षतिको अध्ययन र नियन्त्रणका लागि मुख्य राजमार्गका विभिन्न स्थान सिसी टिभीसमेत राखेर निगरानी बढाएको छ । – भीष्मराज ओझा

प्रतिक्रिया