शुक्रबार, वैशाख १४, २०८१

गोरखामा पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदाको घोषणा

नेपालखोज २०७६ पुष २४ गते १०:०९

२४ पुष, गोरखा । नेपाल एकीकरणका अगुवा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह जन्मेको दिन पारेर गोरखाका तीन पालिकाले सार्वजनिक विदाको घोषणा गरेका छन् । आउँदो पुस २७ गतेलाई पृथ्वीजयन्तीको रुपमा मनाउन गोरखा नगरपालिका, पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन् ।

कार्यपालिकाको बैठकबाट निर्णय गरेर सो दिन पालिका मातहतका कार्यालयहरुमा बिदाको घोषणा गरेको ती पालिकाले जानकारी दिएका छन् । तीनवटै पालिकाले स्थानीय स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाउन लागेको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकाले पुस २६ र २७ गते दुई दिवसीय कार्यक्रमको आयोजना गरेको मेयर राजन पन्तले जानकारी दिए ।

पुस २६ गते पृथ्वीनारायण शाह र एकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । इतिहासविद् डाक्टर द्रोणराज काफ्लेको उपस्थितिमा आयोजित सो कार्यक्रमको आयोजना पत्रकार महासंघ गोरखाले गर्ने मेयर पन्तले जानकारी दिए । त्यस्तै नगरपालिकाले २६ गते साँझ घरघरमा दिपवाली गर्न पनि गोरखा नगरक्षेत्र भित्रका सबैलाई अनुरोध गरेको छ ।

पुस २७ गते बिहान नगरक्षेत्रको सरसफाई र दिउँसो हरमटारीदेखि गोरखा संग्राहालय परिसरसम्म झाँकीसहिर्त याली आयोजना गरिएको मेयर पन्तले जानकारी दिए र्। यालीको संयोजन गोरखा उद्योग वाणिज्य संघले गर्नेछ ।  पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक रहेको गोरखा संग्राहालय परिसरमा सो दिनमा कोण सभाको आयोजना गरिने मेयर पन्तले बताए ।

पृथ्वीनारायण शाह र उनको योगदानको इतिहासले गोरखाको पर्यटनमा समेत फाइदा पुग्ने भएकाले प्रचार प्रसार गर्न स्मरण स्वरुप कार्यक्रम गरिएको नगरप्रमुख पन्तले बताए । भिसमेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे र पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले पृथ्वीनारायण शाहको उच्च सम्मानमा उक्त दिन सार्वजनिक बिदा दिएर कार्यक्रम गर्न लागिएको बताए ।

प्रतिक्रिया