बुधबार, मंसिर २१, २०७९

एलपी ग्यासको भण्डारण क्षमता विस्तार र आफ्नै लोगोमा ग्यास उत्पादन

नेपालखोज २०७६ पुष २७ गते ७:२५

२७ पुस, काठमाडाैं । एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ ।

नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने बताए । उनका अनुसार, निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने उद्देश्यसहित झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ग्यास ‘बोटलिङ तथा रिफिलिङ प्लान्ट’ निर्माण प्रक्रिया सुरु गरेको छ ।

उनका अनुसार सो कारखाना परिसरमा ग्यास बुलेट भर्ने र झार्ने व्यवस्था समेतको पूर्वाधार निर्माण गरिनेछ । झापामा २९ बिघा र जनकपुरमा १० बिघा जग्गा निगमको स्वामित्वमा रहेको छ । झापा र जनकपुरमा तीन-तीन हजार मेट्रिक टन क्षमताका ग्यास भण्डारण गृह निर्माण गर्ने योजना निगमको छ । अहिले निगमसँग ग्यास भण्डारण गृह छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया