बुधबार, वैशाख १२, २०८१

प्रतिनिधिसभाको बैठक स्थगनप्रति काँग्रेसको आपत्ति

नेपालखोज २०७६ पुष २७ गते १८:०३

२७ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभालाई दलगत अनिर्णयको बन्दी बनाइएको भन्दै आपत्ति जनाएको छ । आईतबारपनि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएपछि विज्ञप्ति जारी गर्दै कांग्रेसले आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको    छ— प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुःखद छ । नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार व्यवहारका रूपमा लिएको छ ।

यसैगरीविज्ञप्तीमा संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व रहेको तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद रहेको पनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ— स्वयं सत्तापक्षका कारण महीना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछु ।

नेकपाले सभामुखको टुंगो नलगाउँदा यसअधि पनि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आइतबार दिउँसो १ बजे बोलाइएको बैठक पनि माघ ६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको छ ।

पुस ४ गतेदेखि शुरु भएको संसदको हिउँदे अधिवेशन सभामुख चयनकै विषयमा सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक यस अघि पुस ११ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर १६ गतेसम्मका लागि स्थगित गरिएको थियो भने पुस १६ गते बस्ने भनिएको बैठक पुस २७ सम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया