शुक्रबार, वैशाख १४, २०८१

पृथ्वीनारायण शाहको सालिक स्थापना सहित सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बनाइँदै

नेपालखोज २०७६ पुष २७ गते २१:१३

२७ पुष, सिन्धुली । विश्व साम्राज्य विस्तारका लागि हिँडेको अङ्ग्रेज फौज (तत्कालीन इष्ट इण्डिया कम्पनी) लाई परास्त गरेको ऐतिहासिक सामरिक महत्वको सिन्धुलीगढीलाई अन्तरराष्ट्रियरुपमा प्रवद्र्धन गरिने भएको छ ।

नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेकाले उक्त स्थल विश्वकै लागि कौतुहलताको विषय बन्न सक्छ । यसले आन्तरिक मात्र नभई अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएकाले पनि यो स्थललाई अन्तरराष्ट्रियकरण गर्न लागिएको हो ।

गढीको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण प्रवद्र्धन गरी अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकार लागिपरेको छ ।

सोहीअनुरुप सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिएको छ । राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायणको जन्मजयन्तीका अवसरमा आज एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त शालिकको अनावरण गरे ।

विसं १७७९ पुस २७ गते जन्मनुभएका पृथ्वीनारायण शाहको २९८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा बनाइएको यो शालिक विश्वभरका नागरिकका लागि अनुपम उदाहरण बन्नेछ । नेपाल राष्ट्रको एकीकरण गर्ने मात्र नभई विश्वलाई नै युद्धको सफल सन्देश दिने सिन्धुलीगढीको यही महत्व र गरिमालाई पर्यटनका माध्यमबाट विश्वस्तरमा उजागर गर्दै यो ऐतिहासिक सम्पदाको पुनःनिर्माण गरी प्रचारप्रसारमा जुटेको छ, कमलामायी नगरपालिका ।

गढीको विकासका लागि सङ्घीय सरकारले पनि विशेष महत्व दिएको छ । कमलामायी नगरपालिकाले पृथ्वीनारायणको शालिक निर्माणसँगै गढीस्थलमा सङ्ग्रहालय, पार्क आदि निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया