शुक्रबार, चैत १६, २०८०

जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताका पत्रकार सदस्यता नवीकरण नहुने

नेपालखोज २०७६ पुष २८ गते ८:१७

२८ पुस, काठमाडाैं । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान शुरु गरेको छ । सदस्यता नवीकरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ ।

शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए । “विदेशमा रहेका सदस्यको हकमा सम्बन्धित देशमै रहेका महासङ्घका शाखामा सदस्यता स्थानान्तरण गर्ने निर्णय भएको छ”, उनले भने ।

शाखामा आबद्ध २६ सदस्य हाल विदेशमा छन् । महासङ्घलाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न सङ्गठन शुद्धीकरण अभियान शुरुआत गरिएको शाखाले जनाएको छ ।

महासङ्घले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्कृय रहेका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आह्वान गरेको छ । आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासङ्घमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई महासङ्घले मानार्थ सदस्यता दिने व्यवस्था गरेको छ ।

निष्कृय सदस्यले स्वेच्छिक रुपमा सदस्यता त्यागेमा थप ५० जना जति सदस्य हट्ने सम्भावना रहेको शाखाले जनाएको छ । यसका लागि शाखाले सदस्यता नवीकरणमा समेत कडाइ गर्ने भएको छ । सदस्यता नवीकरणका लागि नियुक्तिपत्र, क्रियाशीलताको प्रमाणपत्रलगायतका कागजात अनिवार्य गरिएको छ । शाखामा हाल १८१ सदस्य आबद्ध छन् ।

प्रतिक्रिया