शुक्रबार, वैशाख ७, २०८१

राजनीतिक आडमा सहकारीको अर्वौ रुपैयाँ कुम्ल्याउँदै इच्छाराज तामाङ्ग

नेपालखोज २०७६ पुष २८ गते १८:२५

२८ पुष, काठमाडौं । राजनीतिक आडमा सहकारी सञ्चालकहरुले कसरी निक्षेपकर्ताहरुको रकम ठगिरहेका छन् भन्ने पछिल्लो उदाहरण बनेको छ २०६४ मा तात्कालिन एमालेका तर्फबाट समानुपातिक सभासद् बन्न सफल भएका इच्छाराज तामाङ्गको सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सहकारी संस्था ।

मुलुक संघीय संरचनामा आईसके पश्चात सहकारीको नियमन गर्ने अधिकार स्थानीय सरकारको हातमा आईसकेपछि काठमाडौं महानगरपालिका भित्र पर्ने सोल्टीमोडमा कार्यालय रहेको सो सहकारी समस्याग्रस्त रहेको महानगरपालिकाको कार्यापालिका वैठकले निर्णय गरेपछि सहकारीको वास्तविकता बाहिर आएको हो ।

पूर्व एमालेकै नेता मानिएका केशवलाल अहिले सो सहकारीको अध्यक्ष रहेका छन् भने इच्छाराज तामाङ सल्लाहकार समितिका प्रमुख । तर सहकारी नीति नियममा नचलेर सल्लाहकार प्रमुख तामाङकै निर्देशनमा चल्ने गरेको छ । त्यतिमात्र होइन सहकारीको अधिकांश रकम तामाङकै विभिन्न कम्पनीहरुमा कर्जा लगानी गरिएको देखिन्छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सहकारी संस्था भित्र चरम आर्थिक वेथिति मौलाएको धेरै नै भईसकेको छ । सहकारी विभागमा दर्जनौं उजुरी परेपनि सहकारी विभागका उच्च कर्मचारीहरुको मिलेमतोका कारण सो सहकारीलाई समस्याग्रस्तको सूचिमा समेत राखिएको थिएन । पछिल्लो समय स्थानीय सरकारलाई अधिकार आएपछि सहकारीका शेयर सदस्यहरुले महानगरापालिकाको सहकारी विभागमा उजुरी गरेपछि सो विभागले अनुगमन गरी सहकारीलाई समस्याग्रस्त रहेको कार्यापालिका समक्ष पेश गरेको थियो ।

महानगरको सहकारी विभागले गरेको अनुसन्धानबाट अर्वभन्दा बढी रकम समस्याग्रस्त भन्ने सिफारिस गरे पछि महानगरको सहकारी विभागले सार्वजनिक सूचना नै निकालेर समस्याग्रस्त सहकारीको सूचिमा सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सहकारी संस्थालाई राखेको थियो । तर एक स्थानीय तहभन्दा धेरै कार्यक्षेत्र भएका कारण महानगरले कार्वाही प्रक्रिया अगाडि बढाउन सकेको थिएन ।

सहकारीले संस्थापक इच्छाराज तामाङका तिनवटा कम्पनीमा सात अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ । त्यति धेरै रकमको कर्जा सुरक्षण भने जम्मा १९ करोड रुपैयाँको मात्रै छ । यसमा नियमनकारी निकायले कुनै ठोस कारबाही गरेको छैन ।

एक वर्ष अघि सेयर सदस्यहरुले निक्षेप असुरक्षित भएको भन्दै सहकारी विभागमा उजुरी गर्दा तामाङले आफ्नो नामका अन्य सम्पत्ति बेचेर निक्षेप फिर्ता दिने बताएको विभागका एक अधिकारी बताउँछन् । त्यसबेला इच्छाराजको कम्पनी सिभिल होम्सको नाममा अर्बौको अचल सम्पत्ति रहेको विश्वासमा सेयर सदश्यहरु निक्षेप डुब्दैन भन्नेमा आश्वस्त भएका थिए । तर सिभिल होम्सको अधिकांश सम्पत्ति बिक्री भइसकेको छ ।

यसरी सर्वसाधारणको थोरै थोरै रकम बढी व्याज दिने भ्रममा अवौै रुपैयाँ स्वाहा बनाउने इच्छाराज तामाङ्ग राजनीतिक आडमा अझै पनि शेयर धनीहरुलाई धम्क्याउने काममा रहेको शेयर धनीहरु बताउँछन् । सल्लाहकार समितिको प्रमुखको जिम्मेवारी भन्दा फरक ढंगले कार्यकारी अधिकार प्रयोग गर्दै कर्मचारीहरुलाई जर्वजस्ती ऋण उपलब्ध गराउन लगाइएको बताइएको छ ।

इच्छाराजको इच्छाअनुसार सहकारी सञ्चालन भएकै कारण अहिले सहकारी टाट पल्टेको छ भने यो सहकारी पनि ओरेन्टल कै अवस्थामा पुगेको र सर्वसाधारणहरुको अवौं जोखिममा परेको देखिन्छ ।

प्रतिक्रिया