शनिबार, वैशाख १५, २०८१

जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माणकार्य शुरु

नेपालखोज २०७६ पुष २९ गते १३:४३

२९ पुस, जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माणकार्य शुरु गरिएको छ । जाजरकोटतर्फको नलगाड नदीमा डिपिआरको काम सकेर बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ । त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको बाँकेज्यूलामा पुल निर्माणकार्य अगाडि बढेको छ । भेरी नदीमा ठूला पुल निर्माणका लागि डिपिआरको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बोलपत्र आह्वान गरेर काम शुरु गरिने जनाइएको छ ।

आगामी असोजमा पुल निर्माणकार्य पूरा गर्ने उद्देश्यका साथ काम भइरहेको सडक विभागले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करपगाड खोला, खदाङ्गको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाडखोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो ।

सडक विभाग र बिएनबी कन्सल्टेन्सीले पुलको अन्तिम नक्साङ्कन सम्पन्न गरी काम अगाडि बढाउन लागेको जानकारी दिएको छ । करीब ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्र्याक खोल्ने कार्य नेपाली सेनाले २०७५ मङ्सिर ४ गते सम्पन्न गरेको थियो । निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ गते सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो ।

विद्युत आयोजना निर्माणमा सहजता आउने

भेरी करिडोरभित्रका सडकमा कालोपत्र पुलको काम शुरु भएसँगै सडकभित्र पर्ने नलगाड जलविद्युत् आयोजना र जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि सजिलो हुने भएको छ । आयोजना निर्माणका लागि लग्नुपर्ने कच्चा पदार्थ तथा आवश्यक उपकरण र विद्युत् लैजानसमेत सजिलो हुने भएको छ ।

प्रतिक्रिया