शुक्रबार, वैशाख ७, २०८१

बौद्ध धर्मावलम्बीले मनाए सम्यक दानपर्व

नेपालखोज २०७६ माघ १ गते १३:५९

१ माघ, भक्तपुर । भक्तपुरमा ३५० वर्षअघि अर्थात् नेपाल संवत् विसं ७८७ भन्दा अघिबाट शुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दानपर्व भव्यरूपमा मनाइएको छ । पाँच दीपकङ्रसहित अन्य स्वर्ण दीपङ्करका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराइ भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराइ मनाइने सम्यक दानपर्व यहाँका बौद्ध धर्मावलम्बीले आज दिनभरि नै भव्यरूपमा यो पर्व मनाउने गर्दछन् ।

चतुब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेक वर्ष माघ १ गते मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक दानमा परम्परागतरूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न दक्षिणा दिइएको थियो । भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका वौद्ध धर्मावलम्बीले दान गरेको सम्यक महादान व्यवस्थापन समितिका देवचन्द्र बज्राचार्यले बताए।

भक्तपुरमा रहेको प्रमुख पाँच दीपङ्कर बुद्धको प्रतिमूर्तिलाई वर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक दान पर्वका दिन पाँच दीपङ्कर बुद्धका प्रतिमूर्ति विराजमान गराइएको उनले बताए । काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुइँख्याल, ललितपुरमा पाँच वर्षमा एकपटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमितरुपमा यो पर्व मनाउँदै आएको छ ।

भक्तपुरमा प्रत्येक वर्ष नःपुखु (गुह्य पोखरी) को पश्चिम थथुवहिको परिसरमा रहेको भुइँख्यल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको राजुमान बज्राचार्यले बताए । धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने तथा भिक्षादान परम्परा रहेको उनले बताए ।

प्रतिक्रिया