शुक्रबार, वैशाख ७, २०८१

मानसिक तनाव मुक्त गर्न योग महत्वपूर्ण

नेपालखोज २०७६ माघ १ गते १५:०७

१ माघ । राष्ट्रिय एकता, योगको सान्दर्भिकता भन्ने मूल नाराका साथ आज योग दिवम मनाइयो । विगत पाँच वर्षदेखि सरकारी स्तरबाट नै प्रत्येक वर्ष माघ १ गतेलाई योग दिवसको रुपमा मनाउँदै आईरहेको छ ।

पछिल्लो केही वर्षयतादेखि आयुर्वेदिक चिकित्सा तर्फ बढ्दै गईरहेको आकर्षणले योग दिवसलाई अझ बलियो बनाएको देखिन्छ । सरकारी संस्था आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग दिवस सप्ताहव्यापीमा मनाउँदै आईरहेको छ ।

मानिसहरुमा नसर्ने रोगहरुको जोखिमलाई न्यूनिकरण गर्नका लागि योग अभ्यास महत्वपूर्ण मानिएको पनि छ । सन् २०३० भित्र प्रत्येक परिवारमा एकभन्दा बढी व्यक्तिमा मानसिक रोग देखापर्ने चुनौती रहेको बेला त्यसको नियन्त्रणको प्रमुख पाटो योग रहेको बताइन्‍छ। नियमित योगाभ्यासबाटै मानसिकलगायत नसर्ने रोगबाट बच्‍न सकिने विज्ञहरु बताउँछन्‌।

योग साधकहरु यसलाई व्यायामभन्दा पनि साधनाका रुपमा लिन्छन्‌। योगबाट शरीरका समस्त अङ्गप्रत्यङ्ग र हरेक ग्रन्थीको व्यायाम हुन्छ र शारीरिक तन्दुरूस्ती कायम हुन्छ। नियमित रूपमा योगसाधना गर्नाले रोगसँग लड्ने शक्ति बढाउँछ, फलस्वरूप मानिस निरोगी बन्छ।

पछिल्ला केही वर्षदेखि योगाको चर्चा बढ्दै गएको छ । फेरिँदो जीवनशैली, तनावपूर्ण दैनिकी एवं अस्वस्थ वातावरण तथा व्यवहारका कारण योगाको चर्चा र आकर्षण दुवै बढेको छ ।

प्रतिक्रिया