शुक्रबार, चैत १६, २०८०

सिक्किमका पूर्व मुख्यमन्त्री चामलिङ नेपाल आएर भने, ‘नेपाली साहित्यमा धेरै गर्न बाँकी छ ’

नेपालखोज २०७६ माघ ३ गते १३:५३

३ माघ, काठमाण्डौ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नेपाल भ्रमणमा रहेका भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ लाई स्वागत गरेको छ ।

प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान गरेका हुन् ।

उक्त अवसरमा चामलिङलाई नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्वपूर्ण प्रकाशनहरू पनि उपहार स्वरूप दिइएको थियो ।

साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चामलिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको बताए । उनले भने, ‘पवन चामलिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ । यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ । यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’

उपकुलपति डा.गुरुङले स्रष्टा चामलिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चामलिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताए । उनले भने, ‘जसरी चामलिङ पाथीभरा माताको शक्ति र अनुकम्पाले आफ्नो स्वप्न यात्रामा सफल हुनुहुन्छ त्यसरी नै उहाँसँग सत्सङ्ग गरेमा स्रष्टा–सर्जकहरू पनि सिर्जना यात्रामा सफल हुनेछन् ।’

आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि स्रष्टा चामलिङले प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गरे । उनले भने– ‘म अत्यन्त कृतज्ञ छु नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि कि बैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ ।’ विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वप्न रहेको बताए ।

प्रतिक्रिया