शनिबार, वैशाख ८, २०८१

प्रतिनिधिसभा बैठक आज बस्दै, सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने

नेपालखोज २०७६ माघ ६ गते ८:५५

६ माघ, काठमाडौँ । लगातार सूचना टाँसेर स्थिगित हुँदै आएको प्रतिनिधिसभाको दोस्रो बैठक आज सोमबार बस्ने भएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र सहमति नजुट्दा एक महिनादेखि प्रतिनिधिसभाको बैठक बस्न सकेको थिएन् ।

नेकपाको सचिवालय बैठकले हिजो आइतवार सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने निर्णय गरेसँगै प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । संघीय संसद्को पाँचौं अधिवेशन सुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक आज सोमबार बस्ने लागेको हो ।

प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गरेकी थिइन् । दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन् ।

सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख रिक्त भएसँगै संसद्ले पारित गरेका विधेयक प्रमाणीकरणका लागि सिफारिस नभई संसद्मै अलपत्र छन् ।

प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीअनुसार उपसभामुखले आज सोमबारको बैठक सुरु हुनुपूर्व नै राजीनामा दिएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

प्रतिक्रिया