शुक्रबार, वैशाख १४, २०८१

यस्ता छन् माघ १२ गते चयन हुने नयाँ सभामुख

नेपालखोज २०७६ माघ ६ गते १६:३५

६ माघ, काठमाण्डौ । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिने घोषणा गरेसँगै १ महिनादेखि अनिश्चित बन्दै आएको प्रतिनिधि सभाले नयाँ सभामुख पाउने निश्चित भएको छ ।

आइतबार नेकपा सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सोमबार उपसभामुखले राजिनामा दिएकी हुन् ।

आफूले राजिनामा दिनुपूर्व संसदमा सम्बोधन गर्दै तुम्बाहाम्फेले भावुक हुँदै संसदीय मर्यादालाई कायम राख्दै आफूले विगत १ महिनादेखि अवरुद्ध हुँदै आएको प्रतिनिधि सभालाई मार्ग प्रसस्त गरेको बताएकी थिइन् । ‘कसैले पनि आफ्ना जरा र धरालत बिसर्नु हुँदैन, धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

१२ गते नयाँ सभामुख चयन हुने
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । संसदमा नेकपाको ए्रकल बहुमत भएकाले सापकोटा सभामुख बन्ने निश्चित छ । यही माघ १२ गते हुने सभामुखको निर्वाचनबाट सापकोटा नयाँ सभामुख चयन हुनेछन् ।

को हुन् सापकोटा ? 

२०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् ।

सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी भएका थिए ।
०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् ।

०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए ।

०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए । सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म पूरै समय भूमिगत बसेका थिए ।

सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया