शनिबार, वैशाख १५, २०८१

उपचारको अभावले कोही पनि अकालमा मर्न नपरोस् : मेयर शाक्य

नेपालखोज २०७६ माघ ७ गते १६:२४

माघ ७, काठमाडौं । काठमाडौं महानगर र नेपाली सेनाको सहकार्यमा आजबाट बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा शुरु भएको छ । महानगरको वडा १५ निवासी ६४ बर्षिया चन्द्रदेवी महर्जनको डाइलासिस गर्ने क्रममा उपकरण सञ्चालन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सेवाको शुभारम्भ गरेका हुन् ।

यस क्रममा मेयर शाक्यले डाइलोसिस गराइरहनुभएकी महर्जनसँग उनको स्वास्थ्य र पारिवारिक अवस्थाका बारेमा जानकारी लिएका थिए । हेमोडाइलासिस सेवा सञ्चालन गर्न पुष २ गते नेपाली सेना र महानगरबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउनेछ ।

सेवा शुरु भएपछि महानगरले अबलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाका बिषयमा कुरा गर्दै प्रमुख शाक्यले आफू उपचारात्मक पद्धतिसँगै प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारेको बताए । उपचार अभावले कोही पनि अकालमा मर्न नपरोस् भन्ने हेतुले ‘एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन् भनेर हामीले नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेका छौं’ मेयर शाक्य भने ।

अस्पतालमा गरीब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न सकुन् भन्ने उदेश् लिएर महानगरले स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेको प्रमुख शाक्यको भनाई रहेको थियो ।

महानगर र छाउनी अस्पतालवीच भएको सम्झौतामा मृगौला बिरामीहरुका लागि हेमोडाईलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ । थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको शिफारिस प्राप्त गरेका सेरा नेगेटिभका बिरामीहरुलाई अस्पतालबाट हेमोडाईलासिस सेवा उपलब्ध हुनेछ ।

थप उपकरण र जनशक्ति नथपुञ्जेल अहिलेका लागि अस्पतालमा भएकै श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिइनेछ । त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।

प्रतिक्रिया