शुक्रबार, वैशाख १४, २०८१

सभामुख निर्विरोध, नेकपाको निम्ति नैतिक संकट !

नेपालखोज २०७६ माघ ७ गते १९:११

७ माघ, काठमाण्डौ । झण्डै एक महिना लामो संसदको गतिरोध माघ ५ गतेको नेकपाको सचिवालयको बैठकले सभामुखको उम्मेदवार टुङ्गो लगाएसँगै अन्त्य भएको थियो । आफ्नै पार्टीको नेतृत्वले सभामुखको उम्मेदवार तय गरेसँगै सभामुखको आफ्नो स्वभाविक दाबी गरिरहेकी उपसभामुख शिवमाया तुम्माहाम्फेले गह्रुगो मन गरेर राजिनामा दिएकी थिइन् । उपसभामुखको राजिनामाले संसदको गतिरोध पनि अन्त्य भइ संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले संसदकाको कारबाही अगाडि बढाए । सोही अनुसार प्रतिनिधि सभाका सभामुखको चयन प्रक्रिया अगाडि बढेको हो ।

माघ ७ गते संसदमा सभामुखको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएसँगै नेकपाका तर्फबाट सिफारिस भएका अग्निप्रसाद सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गराएका छन् । उनको एकल उम्मेदवारी परेको छ । यसर्थ, उनी प्रतिनिधि सभाका सभामुख निर्विरोध भइसकेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने माघ १२ गते मात्र हुनेछ ।

संविधान अनुरुप सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने व्यवस्था भएका कारण सापकोटा सभामुख चयन हुँदा अर्काे दलको उपसभामुख चयन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । संसदमा दोश्रो ठूलो दल भएका कारण स्वभाविक रुपमा आफूले उपसभामुख पाउनुपर्ने दाबी कांग्रेसले गर्दै आएको छ । यसलाई राजनीतिक रुपमा सहजीकरण गर्नको निम्ति पनि सभामुखमा पनि उम्मेदवारी दिने मनस्थिति बनाएको कांग्रेसले उम्मेदवारी नदिइ नेकपालाई नैतिक रुपमा दबाब सिर्जना गरिदिएको छ ।

यता विपक्षी बेन्मा बस्दै आएतापनि माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपासँग गठनबन्धन तय गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि उपसभामुख आफूले पाउनुपर्ने दाबी अगाडि सारेको छ । यसबाट नेकपा प्रतिपक्ष दल नेपाली कांग्रेस वा राजपा कसलाई दिने भन्नेमा अप्ठ्रोमा परेको छ ।

खासगरी सरकारका गतिविधिहरु सन्तोषजनक हुन नसकेको भन्दै आलोचना गर्दै आएको नेपाली कांग्रेसलाई उपसभामुखमा सघाएर सरकारप्रति थप आक्रामक बन्न नदिने बाध्यता एकातिर छ भने अर्काेतिर राष्ट्रिय सभामा गठबन्धन गरेको कारण राजपाको दाबीलाई लत्याउन नहुने नैतिक दबाब पनि सिर्जना भए्रको छ ।

पछिल्लो राजनीतिक घटनक्रमबाट सत्तारुढ दल नेकपालाई अवसर र चुनौती दुवै सिर्जना हुँदै गएको विश्लेषण गर्न थालिएको छ । राजनीतिक रुपमा प्रतिपक्ष दलहरुसँग समदुरीमा रहेर आफ्नो लक्ष्यलाई पूरा गर्नुपर्ने बाध्यता नेकपासँग भएका बेला भोलिका दिनमा उनीहरुलाई कसरी समेटेर नेकपा अगाडि बढ्नेछ भन्नेमा निक्र्यौल भने माघ १२ गते सभामुख चयन भएपछि मात्र तय हुनेछ ।

प्रतिक्रिया