शनिबार, असार ३०, २०८१

एन्फा र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच सम्झौता

नेपालखोज २०७६ माघ ८ गते १५:५०

८ माघ, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ ।

नेपाल र बेलायतको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

एन्फा अध्यक्ष शेर्पाले नेपाल र बेलायतको सम्बन्ध २ सय ४ वर्ष पुगेको अवशरमा पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा आयोजना हुने बताए ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुने बताएका छन् । सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने उनले बताए । वार्षिक रुपमा मैत्रीपूर्ण खेलको निरन्तरता दिने प्रयास अन्फाबाट हुने र सोही अनुसार काम अगाडी बढाउने उनले बताए ।

मे २५ मा हुने पहिलो मैत्रीपूर्ण खेल ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ । यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।

प्रतिक्रिया