मंगलबार, वैशाख ११, २०८१

दैलेखमा पेट्रोलियम अन्वेषण अन्तर्गत साइस्किम सर्भे शुरु

नेपालखोज २०७६ माघ ९ गते ८:३४

९ माघ, दैलेख । दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन् ।

विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अनुसन्धान गर्न अत्याधुनिक साधनसमेत यहाँ ल्याइएको छ । सर्भेअन्तर्गत जमिनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ । चार सर्भेमध्ये सबैभन्दा महत्वपूर्ण ‘साइस्मिक सर्भे’ मानिन्छ ।

यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए । उनले भने, “पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि ड्रिलिङ गर्ने काम शुरु भइरहेको छ ।

१० मध्ये एउटा सर्कलमा जमीनमुनि करीब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा त्यही अनुपातमा काममा तीव्रता दिएको छ ।”  जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने भूगर्भ विभाग जनाएको छ ।

अन्वेषणका तीन वटा सााइस्मिक सर्भे सम्पन्न भएका छन् । पूर्वपश्चिम उत्तरदक्षिणका विभिन्न भूभागमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने काम सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु गरिएको छ ।

दश वटा साइस्मिक लाइनमा २०० किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको छ । एउटा लाइनमा ४०० वर्गमिटर भूभाग समेटिइ सर्भेको काम भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया