शुक्रबार, वैशाख १४, २०८१

भ्रमण वर्ष लक्षित गरी कोशी पर्यटन महोत्सव

नेपालखोज २०७६ माघ ९ गते १४:००

९ माघ, सुनसरी । प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गर्ने भएको छ । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्र्षमा लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागेको हो।

भ्रमण वर्ष २०२० मा लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । गाउँपालिकाले आयोजना गर्ने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष अन्सारीले बताए ।

आगामी माघ १९ देखि २७ गतेसम्म कोशी टप्पु वन्यजन्तु आरक्ष प्रवेशद्वारका रुपमा रहेको पश्चिम कुशाहामा आन्तरिकसँगै छिमेकी भारतका पर्यटकलाई समेत आकर्षित गर्ने योजनासहित महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए।

प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको सप्तकोशी नदी, कोशी टप्पु वन्यजन्तु आरक्ष र ठूलाठूला सिमसारमा पाइने विभिन्न प्रजातिका पक्षी, जलचर, अर्नासहितका वन्यजन्तु, कोशीको जलयात्राजस्ता धेरै सम्भावनाले यो क्षेत्रका जनताको जीवनस्तर उकास्न सकिने भएकाले त्यसका लागि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवले थप मद्दत पु¥याउने गाउँपालिकाका अध्यक्ष अन्सारीले बताए।

प्रतिक्रिया