बिहीबार, वैशाख १३, २०८१

दु्ई बर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने

नेपालखोज २०७६ माघ १० गते १६:४९

काठमाण्डौ । आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ । भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिने बताए।

भन्सार सुधार तथा आधुनिकीकरण गर्न त्यससम्बन्धी नीति, कानून बनाउन प्रक्रिया अगाडि बडाइएको जानकारी दिँदै उनले व्यापार सहजीकरणमा खास नीतिको सरलीकरण, एकीकरण र व्यापार प्रक्रियामा सुधार भइरहेको बताए । यही माघ १२ गते ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवस हो ।

व्यापार सहजीकरणका लागि भारत, चीन र बङ्गलादेशसँग द्विपक्षीय संयन्त्र क्रियाशील छन् । यस्ता संयन्त्रले सीमावर्ती भन्सारमा नीतिगत एकरुपता सहजीकरण, सूचना आदानप्रदान र समन्वयको काम गरिरहेका छन् । चीनसँग भन्सार सहयोग सम्झौता सम्पन्न भएको छ भने भारतसँग यस्तो सम्झौता हुने प्रक्रियामा छ । भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा भन्सार व्यापार सहजीकरण समिति केन्द्रमा क्रियाशील रहेको छ । निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच समन्वय गरिरहेको जनाइएको छ ।

पाँचौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजना कार्यान्वयनमा छ । भन्सार विन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेँलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँचपास भएको छ । रातो मार्ग भौतिक परीक्षण हुने जाँच प्रणाली हो । पूर्वाधार विकास निर्माण र सुधारमा भन्सार क्रियाशील रहेको र विभागले कूल राजश्वको करिब ५० प्रतिशत राजश्व सङ्कलन गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया