बुधबार, वैशाख १२, २०८१

तामाङको सोनाम ल्होसार आज, हर्षोल्लासका साथ मनाइँदै, राष्ट्रिपति तथा प्रधानमन्त्रीद्वारा शुभकमना

नेपालखोज २०७६ माघ ११ गते ८:५८

११ माघ, काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व शनिबार आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार शनिबार आजदेखि २८५६ औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । टुँडिखेलमा हुने दुईदिने कार्यक्रममा खाना, भेषभूषा, डम्फु, पुस्तकलगायतका विविध स्टल राखी ल्होछार मनाइँदैछ ।

कार्यक्रममा तामाङ मौलिक एवं लोपोन्मुख नृत्य, गीतको प्रस्तुति पनि रहने छन् । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । आज मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार हिजो नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरिन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलनमा हरेका भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविध बहुमूल्य सम्पत्तिलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको प्रमुख चाड सोनाम ल्होसारका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्दै देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको समेत उल्लेख गरेँ ।

प्रतिक्रिया