शुक्रबार, वैशाख १४, २०८१

शहरबाट गाउँ फर्केर माछापालनमा रमाउँदै विष्णुकुमार मल्ल

नेपालखोज २०७६ माघ ११ गते ११:५४

११ माघ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ का ५६ वर्षीय विष्णुकुमार मल्ल सदरमुकाम दमौलीमा २५ वर्ष व्यापार गरी अहिले गाउँमा फर्केर व्यावसायिक माछापालन थाल्नु भएको छ । दमौली डाग्रीखोल्सीस्थित फेन्सी पसल बिक्री गरेर एक वर्षदेखि मल्ल माछापालनमा सक्रिय छन् ।

उहाँले १५ रोपनीमा आठ पोखरी बनाउनुभएको छ । पोखरीमा ग्रास, कमन, सिल्भर, नैनी, रहुलगायतका माछा छन् । शुरुमा आठ हजार माछाका भुरा पोखरीमा राख्नुभएका मल्लले पाँच हजार बिक्री गर्दा रु तीन लाख आम्दानी गरी सकेको बताए ।

पछिल्लो समय गाउँका युवापुस्ता विदेशीने क्रम बढ्न थालेको छ । उनीहरुलाई गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले व्यवसाय थालेको मल्लले सुनाए । रेड गार्डेन कम्पनी जर्मनमा पाँच वर्षको अनुभव बटुल्नुभएका मल्ल तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका पूर्वसभापतिको साथै विभिन्न सङ्घसंस्थामा सक्रिय भएर काम गर्दै आएका छन् ।

शुरुमा रु २५ लाख लगानी गरेको बताउँदै मल्लले एक रोपनीमा जति धान उत्पादन हुन्छ, त्यसको चार गुना बढी माछा उत्पादन हुने भएकाले आफू यसतर्फ आकर्षित भएको जानकारी दिए । मल्लले माछा पोखरीमा आवश्यकताअनुरुप चार/पाँचजनालाई रोजगारी दिएका छन् ।

माछा पोखरीमा धेरै सर्प हानिकारक भए पनि केही भने लाभदायक हुने उनको अनुभव सुनाए । पोखरीमा सर्प नहुने हो भने मुसा र भ्यागुताले पोखरीको डिल भत्काइ दिँदा पोखरीको पानी रित्तिने सम्भावना रहेकाले माछा पोखरीमा सर्प आवश्यक हुने गरेको उनले बताए ।

स्थानीय तहमै माछा बिक्री
त्यहा उत्पादन गरिएका माछाको लागि बजारको कुनै पनि अभाव छैन । उत्पादित माछा दमौली बजार खपत हुन्छ । उनले भने, “कतिपय मानिस त पोखरीमा नै लिन आउँछन् ।” माछाको त्यहाँ प्रतिकिलो रु ४०० पर्छ ।

ठूला–ठूला व्यवसायीले प्रतिकिलो रु २०० मा माग्ने गरेकाले दुःख लाग्ने गरेकाले स्थानीय तहमै ताजा माछा बिक्रीको व्यवस्था गरिएको छ । हालै सम्पन्न सातौँ तनहुँ महोत्सवमा १२५ किलोग्रामको माछा बिक्री गर्न सफल भएको मल्लले जानकारी दिए ।

प्रतिक्रिया