बिहीबार, वैशाख ६, २०८१

मुलुकको समृद्धि धेरै टाढा छैन : मन्त्री बस्नेत

नेपालखोज २०७६ माघ ११ गते २०:४७

भक्तपुर । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धि अब धेरै टाढा नभएको बताउँदै वर्तमान सरकारले मुलुक समृद्ध बनाउने अभिभारा पूरा गर्ने बताए । हनुमन्ते सफाई अभियानको आज १०० हप्ता पूरा भएको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै बस्नेतले हनुमन्ते सफाई अभियान जस्तै विकासका हरेक अभियानमा सरकारको सधै सहयोग र साथ रहने बताए । उनले विकासका गतिलाई सरकारले अझै तीब्र गतिमा लैजाने बताए ।

उनले संघीयताको अभ्यास भईरहेको अबस्थामा संघ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पूरा गर्न लाग्नु पर्ने औल्याउँदै तीनवटै तहको आपसी सहयोग र साझेदारीसँगै एकले अर्काको अस्तित्व स्वीकार्दै विकासमा लम्कनु पर्नेमा जोड दिए।

हनुमन्ते सफाई अभियानका संरक्षक एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले अब हनुमन्ते होस वा सडक जहाँ कहिँ फोहोर गर्नेलाई नगरपालिका, जिल्ला प्रशसन र प्रहरीले कारबाही अगाडि बढाउनु पर्नेमा जोड दिदै फोहोर गर्नुपनि सामाजिक अपराध भएकाले सार्वजनिक मुद्धा लगाएर फोहोर गर्नेलाई सजाय दिनुपर्ने बताए ।

उनले हनुमन्ते सफाई अभियानबाट निरन्तर ६० दिन अरनिको राजमार्ग सफाई, अरनिको राजमार्गमा सोलार बत्ति जडान, हरियाली प्रर्बद्धन, विपद सामाग्री व्यबस्थापन जस्ता कार्यक्रम उपलब्धीका रुपमा आएको चर्चा गरे । बस्नेतले हनुमन्ते करिडोर अबको दुईवर्षमा सम्पन्न गर्ने बताउँदै करिडोरको बिरुद्धमा जनता भड्काउने र अदालतमा मुद्धा हालेर विकास बिथोल्नेलाई जनताले सजाय दिने चेतावनी समेत दिए ।

सांसद बस्नेतले विकास विरोधीको हिसाब, किताब राख्ने बताउँदै हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरि हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिईने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अभियानका संयोजक सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते नदी र सडक लगायतका क्षेत्रमा फोहोर गर्नेलाई नगरपालिकाले जरिवाना सहित कारबाही गरिने बताए । कार्यक्रममा अभियानमा निरन्तर सहभागि रहने अभियन्ताहरु, संघसंस्थाहरु र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।अभियानमा ९५ हजार जना भन्दा बढी र २५० भन्दा बढी सामाजिक संघसंस्थाको सहभागिता रहेको अभियानमा १६०० टन फोहोर संकलन भएको जानकारी दिइयो ।

‘उठौं, जागौं, हनुमन्ते नदी सफाईमा सबै लागौ’ भन्ने मूल नाराका साथ सरकारको लगानी बिना नै २०७४ फागुन १९ गते शनिवार तत्कालिन जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाई अभियानका अगुवाई गर्ने सांसद बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेको हनुमन्ते सफाई अभियानले आज १०० हप्ता पूरा गरेको छ ।

प्रतिक्रिया