शनिबार, वैशाख ८, २०८१

भागबण्डा मिलेपछि कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्दै

नेपालखोज २०७६ माघ १२ गते ७:३५

१२ माघ, काठमाडौं । लामो समयदेखि आन्तरिक विवादमा रुमल्लिरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताबीच भागवण्डामा सहमति भएपछि भोलि सोमबार केन्द्रीय समिति बैठक बस्ने भएको छ।

गुट उपगुटमा विभाजित कांग्रेसभित्र आन्तरिक भागवण्डा नमिल्दा एक पक्षले लगातार केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका थिए। महाधिवेशनमा नेतृत्व हत्याउने जोडघटाउमा लागेका शीर्ष नेताबीच सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको सहमतिपछि भोलि सोमबार केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।

यसअघि सभापति देउवा पक्ष इतरका नेताहरू केन्द्रीय समिति बैठकमा अनुपस्थित भएपछि महाधिवेशन गर्नेजस्तो महत्वपूर्ण निर्णयसमेत बहुमतको आधारमा गरिएको थियो। महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसके पनि भोलि बस्ने बैठकमा पुनः छलफल हुने बताइएको छ।

साथै बैठकमा म्याद गुज्रिसकेको नेविसंघ, तरुण दललगायत भ्रातृ संस्थाहरूको बारेमा पनि छलफल हुनेछ। शुक्रबार सभापति देउवा निवास बूढानीलकण्डमा भएको शीर्ष नेताहरूको छलफलमा नेविसंघ, तरुण दलमा भागवण्डा गर्ने र महाधिवेशनको कार्यतालिका पनि परिवर्तन गर्ने सहमतिपछि केन्द्रीय समिति बैठक आह्वान गरिएको बताइएको छ। कांग्रेसको पुस ११ गते सम्पन्न केन्द्रीय समिति बैठकले बहुमतको आधारमा गरेको निर्णयअनुसार २०७७ फागुन ७ गते देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो।

शीर्ष नेताहरूले सहमतिमा केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर स्थानीय र प्रदेश तहको अधिवेशन गर्ने मिति भने परिवर्तन गर्ने गरी सहमति गरेका छन्।

पूर्वघोषित कार्यतालिकाअनुसार २०७७ मंसिर ९ देखि पुस १५ भित्र गाउँ, नगर, क्षेत्र, जिल्ला सबै अधिवेशन गरिसक्नुपर्ने थियो। यो अवधिमा यी सबै अधिवेशन सम्पन्न गर्न सम्भव नहुने भएकाले कार्यतालिका परिवर्तन गर्नुपर्ने केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाई छ ।

यसअघि निर्णय भएको अधिवेशन कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन २०७७ मंसिर ९ गते, गाउँ÷नगरपालिका अधिवेशन २०७७ मंसिर ११ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ मंसिर १५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०७७ मंसिर १७ गते, जिल्ला अधिवेशन २०७७ मंसिर २५ गते र प्रदेश अधिवेशन २०७७ पुस १५ गतेसम्म गरिसक्नुपर्ने थियो।

सहमतिअनुसार गठन गर्न लागिएको विभाग भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पौडेल पक्षलाई ४० प्रतिशतको दरले भागवण्डा दिइने भएको छ।

आफूले भागवण्डा पाएपछि पौडेल पक्षले पनि नेविसंघमा राखिएको ३२ वर्षीय उमेर हद हटाउन मञ्जुर भएको बताइएको छ।

प्रतिक्रिया