शुक्रबार, वैशाख १४, २०८१

सानेपामा नेविसंघका दुई पक्षबीच झडप

नेपालखोज २०७६ माघ १३ गते १४:२५

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुविच झडप भएको छ । सोमबार (आज) दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झडप भएको हो ।

कांग्रेस भित्र पार्टी र पार्टीका भ्रातृ संगठनको संस्थापन पक्ष र इतर पक्षविच लामो समयदेखि संघर्ष चलिरहेको छ । सोमबारपनि सोहि संघर्षले उग्र रुप लियो । सो क्रममा पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि हातपात भयो । लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा बसेको छ ।

नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो । सभापति शेरबहादुर देउवाले ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् ।

असन्तुष्ट विद्यार्थी नेताहरुले महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला काफ्लेमाथि संस्थापन पक्षले आक्रमण गरेको आरोप छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेवि संघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शन र समर्थनका लागि सानेपामा भेला भएका छन् ।

प्रतिक्रिया