शनिबार, जेठ ५, २०८१

प्रजातन्त्र सेनानीको योगदान नबिर्सन माग

नेपालखोज २०७६ माघ १४ गते १९:०६

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लामो आन्तरिक विवाद र बहशपछि पार्टीको १४ औं महाधिवेशनको मितिमा सहमति भएको बताएका छन् । उनले नेपाल प्रजातन्त्र सेनानी सङ्घ काठमाडौँको भेलालाई सम्बोधन गर्नुहुँदै सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै सिंहले पार्टीले अब सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको काम प्रारम्भ गर्ने जानकारी पनि दिएका थिए ।
पार्टी भित्र भएका वेथिति र विधान विपरीतका कामको डटेर विरोध गर्दा विभाजन गर्न खोज्यो भनेर आरोप लगाउनुको कुनै औचित्य नहुने भन्दै पार्टी सही तरीकासँग चल्न नसकेका कारण काँग्रेसले सडक र संसद दुवै मोर्चाबाट सरकारले गरेका भ्रष्टाचार र प्रजातन्त्र विरूद्धका कदम रोक्न भूमिका निर्वाह गर्न नसकेको बताए ।

नेपाली काँग्रेस जिल्ला काठमाडौंका सभापति कृष्ण सबुज वानियाँले पार्टीको साखलाई माथि उठाउन आउँदो महाधिवेशनमा पार्टीका सबै निकाय र भ्रातृ संस्था विशेष सजग हुनुपर्ने बताए । काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलले प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने योद्धाको समुचित कदर हुन नसकेकोमा दुःख व्यक्त गरे ।
कार्यक्रममा प्रजातन्त्रका लागि लड्ने योद्धाको उचित सम्मान हुन नसकेकामा नेताहरुले गुनासो समेत गरे । आन्दोलनका बेलामा खोजीने प्रजातन्त्र सेनानीलाई नेपाली काँग्रेसले सत्तामा गएपछि बिर्सने गरेको सेनानी सङ्घमा आबद्ध नेता कार्यकर्ताको गुनासो थियो ।
सेनानी सङ्घ काठमाडौँका सभापति प्रजातन्त्र सेनानी गोविन्दप्रसाद गजुरेल, सङ्घका केन्द्रीय प्रवक्ता बालकृष्ण दाहाल, संविधानसभा सदस्य दीपकप्रसाद कुँइकेल, नेपाल महिला सङ्घ काठमाडौं जिल्ला सभापति विष्णुदेवी पुडासैनी, प्रजातन्त्र सेनानी कमला शर्मा राई, काँग्रेस, जिल्ला कार्य समितिका सचिव शङ्कर मल्ल ठकुरी लगायतले प्रजातन्त्रका लागि लड्ने योद्धाको उचित सम्मान हुनुपर्नेमा जोड दिनुभएको थियो । भेलाले गजुरेलको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ जिल्ला समितिको गठन गरेको छ ।

प्रतिक्रिया