मंगलबार, साउन १, २०८१

प्रधानमन्त्री ओली भने, ‘यो सरकार इतिहासकै सबैभन्दा शक्तिशाली र राष्ट्रवादी सरकार हो’

नेपालखोज २०७६ माघ १५ गते १५:३८

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै सबैभन्दा शक्तिशाली र राष्ट्रवादी सरकार भएको बताएका छन् ।

बुधबारबाट काठमाण्डौैमा सुरु भएको नेकपाको केन्द्रीय कमिटीको दोश्रो बैठक उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने, ‘यो सरकार भारतसँग लिम्पियाधुरा हाम्रो हो भन्न सक्ने पहिलो सरकार हो ।’

सरकारले गरेका राम्रा कामको तारिफ गर्नुको साटो सबैतिरबाट आक्रमण भएको गुनासो गर्दै ओलीले सरकारका राम्रा कामको समीक्षा समेत हुन नसकेको बताए ।

भारतसँगको सीमा विवादलाई कुटनीतिक पहलमार्फत समाधान गरिने बताउँदै ओलीले छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाइने बताए ।

आफूले विगतमा हिंसात्मक बाटोलाई अँगालेका विभिन्न समूहसँग वार्ताका माध्यमबाट मूलधारको राजनीतिमा ल्याएको उल्लेख गर्दै ओलीले भने, ‘सिके राउतहरुलाई मूलधारको राजनीतिमा ल्याइएको छ । टावर भत्काउने र बम पड्काउनेहरुलाई कारबाही गरेका छौं । जनताले सेवा महसुस गर्ने गरि सडक र पुल बनाएका छौं’

आफ्नो मन्तव्यका अधिकांश समय सरकारको बचाउ गरेका प्रधानमन्त्री ओलीले नेपाल भ्रमण बर्षको सुरुवातमै कोरोना भाइरसले धक्क दिएको बिषय मंगलबारको संसदको बैठकमा उठाउँदा त्यसको प्रमुख प्रतिपक्षले गलत व्याख्या गरेको दुखेसो पोखे ।

ओलीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा भएको बताए । यसलाई रोक्न नहुने बताउँदै उनले सहयोग लिन नेपाल तत्पर रहेको उल्लेख गरे । २९ भदौ ०७४ मा शेरबहादुर देउवा नेतृत्व सरकारको सरकारका अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको टोलीले यो सहयोगका लागि सम्झौता गरेको समेत उनले बताए ।

पछिल्लो समय यति समूहसँग जोडेर सरकारको बदनाम गरिएको बताउँदै ओलीले यति समूहसँग सरकारको कुनैपनि साइनो नरहेको स्पष्ट पारे । उनले भने, ‘यति समूहसँग सरकारको कुनै साइनो छैन । पाथीभराको जग्गा सित्तैमा यतीलाई भनेर हिजो एउटा दैनिकले छापेको छ । तर त्यो व्यक्तिगत जग्गा हो ।’

प्रतिक्रिया