शनिबार, जेठ ५, २०८१

मेरो सम्बन्धमा कुनै आलोचना छ भने, त्यसलाई सच्याउन सकिन्छ : प्रधानमन्त्री ओली

नेपालखोज २०७६ माघ १५ गते १६:३४

काठमाण्डौ । बुधबारबाट काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटीको दोश्रो बैठक सुरु भएको छ । माघ २० गतेसम्मलाई निर्धारण गरिएको उक्त बैठकमा ४४१ जना केन्द्रीय कमिटी सदस्यले सहभागिता जनाएका छन् ।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्धयामा भएको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केन्द्रीय कमिटीको बैठकमा सरकारका बारेमा विद्यमान भ्रम चिर्न पाउनुपर्ने बताएका थिए । उनले सरकारका बारेमा बचाउन गर्न पाउनुपर्ने बताएका थिए । सोही कारण सचिवालयले पनि ओलीलाई केन्द्रीय कमिटीमा आफ्नो बचाउ गर्ने अवसर दिएको थियो ।

ओलीले केन्द्रीय कमिटीको बैठकमा खुलेरै सरकारको बचाउ मात्र गरेनन् । उनको भावभंगीले विगतमा जस्तो प्रस्तुतीमा ओली देखिन्थे सो भन्दा फरक ढंगबाट प्रस्तुत भएका देखिन्थे । उनीमा एक खालको संशय र आशंका एवं सन्त्रास पनि विद्यमान रहेको जस्तो देखिन्थ्यो । खासगरी केन्द्रीय सदस्यहरुबाट आउने सक्ने सम्भावित आलोचनलाई बैठकको सुरुमै उनले बचाउ गर्ने प्रयास गरेका थिए । तर उनको यो बचाउले कति काम गर्न सक्यो त्यो हेर्न भने केही समय कुर्नुको विकल्प छैन ।

मूल रुपमा पछिल्लो पटक सरकार दुईवटा बिषयमा नराम्ररी आलोचित हुन पुगेको छ । यति होल्डिङसँग सम्झौता समाप्त हुनुपूर्व नै गरेको सम्झौता र अर्काे भनेको अमेरिकाले अगाडि सारेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन )एमसिसि)का बारेमा पार्टीभित्रै पनि स्पष्ट पार्न नसक्दा मत बाझिएको छ ।

खासगरी राष्ट्रको सम्पत्ति सरकारले शृंखलाबद्ध रूपमा यती समूहलाई हस्तान्तरण गर्न थालेको भन्दै नेकपा नेकपाभित्रै आवाज उठिरहेका बेला पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि यतीलाई दिएको समाचार प्रकाशित भएपछि यो अझै चर्काे स्वरुपमा अगाडि बढ्यो ।
यस बिषयमा मंगलबारको सचिवालय बैठकमा समेत वरिष्ठ नेता माधवकुमार नेपालले खुलेरै आलोचना गरेका थिए । उनले ‘देशको सम्पत्ति एउटा घरानालाई जिम्मा लगाउनुपर्ने र तिनकै छोराछोरीलाई राजदूत पनि बनाउनुपर्ने रहस्य के हो ? पार्टी यती समूहको सति जानुपर्ने बाध्यता के छ ?’ नेपालले यती समूहका ल्हाक्पा सोनामकी छोरी दावा फुटी शेर्पालाई वर्तमान सरकारले स्पेनको राजदूत बनाएर पठाएकको बिषयलाई पनि गम्भीरतापूर्वक उठाए ।

त्यसो त सचिवालय बैठकमा नेपालले उठाएको प्रश्नलाई सही थप्ने नेकपाका अर्का नेता वामदेव गौतमले भने, ‘माधव कमरेडको चिन्ता जायज छ, जनताले विश्वास गरेको पार्टीको लोकप्रियता एउटा व्यापारिक घरानाको स्वार्थका कारण संकटमा परेको छ । यो विषयमा हामीले छलफल गर्नुपर्छ र गल्ती सच्याउनुपर्छ ।’

पर्टीको केन्द्रीय कमिटीको बैठक सुरु हुनुपूर्व पार्टी सचिवालय बैठकमा आफू र सरकारप्रति ठाडो रुपमा आलोचना आएका कारण ओलीले केन्द्रीय कमिटीको बैठकमा पनि यस्ता धेरै बिषयमा आलोचना खेप्नुपर्ने पूर्वानुमान गरेको बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै गर्दै स्पष्ट देखिन्थ्यो । त्यसैले उनले केन्द्रीय कमिटीको बैठकमा उपस्थित नेताहरुलाई भने, ‘मेरो सम्बन्धमा कुनै आलोचना छ, सुझाव छ, टिप्पणी छ भने त्यो पनि कुरा गर्न सकिन्छ । र, त्यसलाई सच्याउन सकिन्छ ।’

प्रतिक्रिया