शनिबार, जेठ ५, २०८१

सूर्यविनायक ४ मा भ्यू टावर निर्माण कार्य ४० प्रतिशत सम्पन्न

नेपालखोज २०७६ माघ १७ गते १५:४३

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित अनन्तलिङ्ग कैलासडाँडामा निर्माणाधिन भ्यू टावरको करिब ४० प्रतिशत काम सम्पन्न भएको छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले बाग्मति प्रदेशको १ करोडको योजनामा उक्त भ्यू टावर निर्माण कार्य भइरहेको हो ।

राजधानी र आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिने उक्त भ्यू टावर वरिपरिका क्षेत्रमा आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने हेतुले होम स्टे समेत सञ्चालनमा आउने भएको छ । राजधानीबाट नजिक भएकाले पनि आन्तरिक रुपमा पर्यटकहरुका लागि उपयुक्त रहेको र उपत्यका वरिपरिका विभिन्न मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले भ्यू टावर निर्माण थालिएको बाग्मति प्रदेशका सांसद शशिजंग थापाले नेपाल खोजलाई बताए । भ्यू टावर निर्माण भएपश्चात यस क्षेत्रमा आन्तरिक पर्यटनको प्रबद्र्धन हुने थापाले बताए ।

यसैगरी सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित ऐतिहासिक रानिकोट दरबार क्षेत्रमा प्रदेश सरकारकै १ करोडको योजना अन्तर्गत सिँडि निर्माण कार्य भइरहेको उनले बताए ।

थापाले भने, ‘सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित विन्दबासिनी पार्क निर्माणमा ३० लाख, वडा नम्बर ४ को दक्षिण बाराहीमा पार्क निर्माणमा ३० लाख, हिन्चोक भैरव मन्दिर परिसरमा ३० लाख र कैलाशडाँडा स्थित नाङ्गेपाखा डाँडाको खोलाले पुर्याउँदै आएको क्षतिलाई न्यूनीकरण गर्न भू–तथा जलाधार नियन्त्रण कार्यालयको ३० लाखको सहयोगमा तारजाली भर्ने कार्य  समेत भइरहेको छ ।’

प्रतिक्रिया