बिहीबार, वैशाख १३, २०८१

प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजान्छौँ : मन्त्री अर्याल

नेपालखोज २०७६ माघ १७ गते १६:२२

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजाने बताएकी छिन् । शहीद स्मारक जनस्वास्थ्य क्याम्पस सिफलको ११औँ वार्षिकोत्सवमा उनले नेपाली माटोमा सुन फलाउन सकिने भन्दै दक्ष जनशक्तिविना मुलुकको कायापलट सम्भव नरहेको जिकिर गरिन् ।

उनले नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसङ्ख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको जानकारीसमेत दिइन् । मन्त्री अर्यालले तालिम प्राप्त व्यक्तिले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा आयस्तरमा वृद्धि गरि सहज जीवनयापन बिताइरहेको बताइन्।

उनले क्याम्पसले प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै अझ धेरै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिन जोड दिइन् । दक्ष जनशक्तिलाई विदेश पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाको खोजी गरिनुपर्ने उनले बताइन् । ‘अब हामीले हाम्रो ज्ञान बिक्री गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउनुपर्छ’, उनलेृ भनिन्, ‘सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको छ ।’

प्राविधिक शिक्षा बोली खानेभन्दा पनि गरिखाने शिक्षाका रुपमा परिचित भएको भन्दै उनले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताइन् ।

प्रतिक्रिया