शनिबार, असोज १३, २०८०

नेकपा बैठकमा प्रधानमन्त्री उपस्थित भएनन्

नेपालखोज २०७६ माघ १७ गते १७:२८

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको आजको बैठकमा प्रधानमन्त्री उपस्थित भएनन् । बैठकको उद्घाटनका बेला २ घण्टासम्म सम्बोधन गरेका प्रधानमन्त्री ओली आजको बैठकमा ‘विशेष परिस्थितिका कारण उपस्थित हुन नसकेको बताइएको छ ।

१५ माघमा गठन गरिएका १५ जना समूह नेताको सहभागितामा बिहीबार ८ वटा समूह सभागृह, ४ वटा समूह पार्टी मुख्यालय धुम्बराही र ३ वटा समूह पार्टीको जनवर्गीय सङ्गठन कार्यालय पेरिसडाँडामा छलफलमा जुटेको थियो ।

आजको बैठकमा बिहीबारको बैठकले विभिन्न ३ स्थानमा गरेको छलफलमा उठेका विषय टोली नेताहरुले रिपोर्ट प्रस्तुत गरिरहेका छन्।

केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न र गुनासाका जवाफ पार्टी अध्यक्षद्वयले दिने पूर्व तयारी रहे पनि अध्यक्ष ओली बैठकमा उपस्थित हुन नसकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूको रिपोर्टिङ सुने र गुनासाबारे जवाफ दिने छन् ।

आजको बैठकमा पार्टी सचिवालय सदस्यहरू प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम, रामबहादुर थापा ‘बादल’, इश्वर पोखरेल, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ उपस्थित भएका छन् ।

केन्द्रीय कमिटि बैठकमा अमेरिकी सहयोग एमसीसी एजेन्डा नरहे पनि अधिकांश सदस्यले यसबारेमा विवादित प्रश्न उठाएपछि विज्ञहलाई समेटेर अध्ययन कार्यदल गठन गरेर निकास निकाल्न सुझाव दिएका छन् ।

प्रतिक्रिया