राजविराजमा बुद्ध एयरको दैनिक उडान
१९ माघ, काठमाडौँ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ ।
एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा पर्यटनलाई लक्षित गरी एयरलायन्सले दैनिक उडान सेवा थालेको जनाएको छ । हाललाई रु दुई हजार ५०० न्यूनतम भाडादर कायम गरिएको छ ।
पहिलो उडान लिएर राजविराज ओर्लेको विमानस्थलका चालक दल सहित यात्रुलाई शनिबार सप्तरी उद्योग वाणिज्य सङ्घ र राजविराज नगरपालिकाले स्वागत गरेका थिए ।
पर्यटकको आवागमनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र आर्थिक वृद्धि हुने सङ्घका अध्यक्ष अरुण प्रधानले बताए । सो अवसरमा राजविराज धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शहर भएकाले यहाँ उडान थप हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।
राजविराज विमानस्थलमा सो एयरलायन्सले दैनिक उडान सेवा शुरु गरेसँगै यात्रुलाई राहत मिल्ने विश्वास गरिएको छ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई थप हवाई सुविधा पुग्ने कम्पनीका प्रवक्ता रुपेश जोशी जानकारी दिए ।

प्रतिक्रिया