सोमबार, जेठ ७, २०८१

हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

नेपालखोज २०७६ माघ २० गते १९:१४

माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ ।

हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ ओटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो ।

आजसम्म चीनमा मात्र यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अवस्था झन् जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीहरुको संख्या पनि बढाइएको सो समाचारमा जनाइएको छ ।

चीनका विभिन्न २९ प्रान्त, स्थानीय निकाय र यहाँका स्वास्थ्य आयोगबाट ती स्वास्थ्यकर्मी खटाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ती स्वास्थ्यकर्मीहरुमध्ये ठूलो संख्याका स्वास्थ्यकर्मीलाई विमानस्थलमा राखिएको छ । विमानस्थलमा यस भाइरसको जाँच कडा पारिएको छ । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरिसकेका छन् ।

गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट यो भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको छ । यस कोरोना भाइरसबाट चीनमा मात्र १४ हजार मानिसमा सङ्क्रमण भएको छ भने विश्वका २४ मुलुकमा यस भाइरस देखापरेको बताइएको छ ।

हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतिक्रिया