आइतबार, भदौ ३०, २०८१

चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या साडे ४ सय पुग्यो, २० हजार बढी संक्रमित

नेपालखोज २०७६ माघ २१ गते ८:३६

२१ माघ, काठमाण्डौँ । चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । कोरोनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ ।

चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ ।

प्रतिक्रिया