शनिबार, असार ३०, २०८१

एजेन्सीमार्फत हुने गाडी आयात रोक्न नाडाको माग

नेपालखोज २०७६ माघ २१ गते ८:२३

२१ माघ, काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले अनधिकृत गाडी आयातलाई रोक्न माग गरेको छ । सोमवार नाडाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेको छलफलमा सो माग गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा दर्ता भएकै भरमा एजेन्सीलाई गाडी आयात गर्न दिन नहुने उसको माग छ ।

आर्थिक ऐन २०७६ अनुसार गाडी आयात गर्दा उक्त कम्पनीको आधिकारिक विक्रेता हुनुपर्ने प्रावधान छ । तर, आधिकारिक विक्रेता नबनी केही एजेन्सीहरूले वाणिज्यमा दर्ता भएकै आधारमा गाडी आयात गर्न थालेपछि नाडाले मन्त्रालयसँग यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय नेपालमा कम्पनीको अधिकृत विक्रेता नलिईकनै अउडी, ल्यान्डरोभर, टेस्लालगायत ब्रान्डका गाडी आयात हुँदै आएको छ । गत साता मात्रै श्रीमा डिस्ट्रिब्युशनले वीरगञ्ज भन्सारबाट टेस्ला ब्रान्डका दुईओटा गाडी भित्र्याएको थियो । तर, अर्थ मन्त्रालयले भन्सार कार्यालयलाई ती गाडी नियन्त्रणमा लिन निर्देशन दिएपछि विभागले गाडी नियन्त्रणमा लिई अध्ययन गरिरहेको छ ।

नाडाका अनुसार आर्थिक ऐनअनुसार मात्रै गाडी आयात गर्न दिन गरेको आग्रहमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले नेपाल राष्ट्र बैंक, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागसँग छलफल गरी सहजीकरणका लागि निर्णय गर्ने बताएका थिए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया