मंगलबार, वैशाख ११, २०८१

जाने हैन त घण्टाचुली पदयात्रामा !

नेपालखोज २०७६ माघ २१ गते १६:०३

तनहुँ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थलको प्रवद्र्धनका लागि तनहुँको देवघाट गाउँपालिकाको आयोजनामा पदयात्रा गरिएको छ । देवघाट गाउँपालिकाका–२ स्थित घण्टाचुलीको प्रवद्र्धन गर्ने उद्देश्यसहित जनप्रतिनिधिसहितको टोलीको सहभागितामा पदयात्रा गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा घण्टाचुलीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित पदयात्रा गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । “प्रचुुर सम्भावना भए पनि उक्त ठाउँ ओझेलमा परेकाले त्यस ठाउँलाई उजिल्याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागितामा पदयात्रा गरिएको हो”, थापाले भने ।

भ्रमण वर्षका अवसरमा धेरै पर्यटकलाई घण्टाचुलीमा लैजाने लक्ष्य राखिएको छ । देवघाट–१ स्थित बेलस्वाँराबाट शुरु भएको पदयात्रा शिखर, चन्दौली, जामुने, विमलस्वाँरा र घण्टाचुलीमा पुगेर सकिएको थियो । पदयात्रामा गाउँपालिकाका अध्यक्ष थापा, वडा नं १ का सदस्य मनबहादुर गुरुङ, इञ्जिनीयर तीर्थराज ढुङ्गाना, राष्ट्रिय जनजाति महासङ्घका अध्यक्ष रुमकुमार थापालगायत सहभागी थिए।

देवघाटधामको शिरमा अवस्थित घण्टाचुली समुद्र सतहदेखि एक हजार ६३० मिटर उचाइमा छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्त्विक महत्व बोकेको सो ठाउँमा राजदरबार, राजगद्दी र चौकीका भग्नावशेष रहेको छ । यहाँ रहेको घण्टाचुली कालिका मन्दिरमा मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ ।

दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घनाजङ्गलमा अवस्थित सो ठाउँमा लालीगुराँस ढकमक्क फुलेको देख्न सकिन्छ । सो ठाउँबाट नेपालका १७ जिल्ला देख्न सकिने घण्टाचुली पर्यटन क्षेत्र विकास संस्थाका अध्यक्ष खड्ग आले मगरले बताए । उनका अनुसार सो ठाउँबाट हिमशृङ्खलाका मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ । समितिले घण्टाचुलीको प्रचारप्रसारका लागि बेलाबेलामा महोत्सव पनि गर्दै आएको छ । “धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस ठाउँको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति हुन सकेको छैन”, मगरले भने, “पर्यटकीय गन्तव्यका रुपमा विकास हुनुपर्ने ठाउँ ओझेलमा परेको महसुस गरेका छौँ ।”

प्रतिक्रिया