मंगलबार, वैशाख ११, २०८१

संक्रमणकालीन न्याय : गंगामाया पुगिन् संयुक्त राष्ट्रसंघको मुख्यालय

नेपालखोज २०७६ माघ २१ गते १७:३०

ललितपुर । अनशनरत गंगामाया अधिकारी नेपालस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पुल्चोक पुगेकी छन् । उनी आफ्नो परिवारलाई न्याय दिलाउन सहयोगको आग्रह गर्दै त्यहाँ पुगेकी हुन् । उनी नौं वर्षदेखि न्यायको लागि अनशनरत छिन् । तात्कालीन सशस्त्र द्वन्द्वका बेला २०६१ साल जेठ २४ मा विद्रोही माओवादीबाट हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै गंगामाया र उनका श्रीमान् नन्दप्रसाद अधिकारी अनशन बसेका थिए । अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो ।

लामो समय अनशनमा रहँदापनि सरकारले बेवास्ता गरेको भन्दै उनी अहिले संयुक्त राष्ट्रसंघको कार्यालयमा पुगेकी हुन् । अनशनरत अधिकारीले (मंगलबार) नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुगेर आवासीय प्रतिनिधि जुलियाण्ड भ्यालेरीसँग भेट गरेकी छिन् । भेटमा उनले राज्यले आफू र आफ्नो परिवारलाई न्याय नदिएको गुनासो गरेको बताइएको छ । उनले आफूमाथि राज्यले गरेको अन्यायलाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह समेत गरिन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालस्थित आवासीय प्रतिनिधि जुलियाण्डले अधिकारीले न्याय पाउन नसकेको बिषयमा जानकार रहेको बताइन् । उनले अधिकारीको मागको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउने बताइन् । नेपाल सरकारले संक्रमणकालीन न्याय प्रक्रिया नै परिमार्जन गरी पीडितलाई न्याय दिलाउनुपर्नेमा जुलियाण्डको जोड थियो ।

उनले नेपालको संक्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय ढंगले अगाडि नबढेको बताउँदै संक्रमणकालीन न्यायको विषय संयुक्त राष्ट्रसंघको विश्वव्यापी आवाधिक समिक्षामा पनि उठ्ने जानकारी दिइन् । विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको कारणले पनि त्यसको परिपालन कार्यान्वयन गरे नगरेको कुराको निरीक्षण संयुक्त राष्ट्रसंघले गर्ने जुलियाण्डको भनाइ छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को १३२५ र १८२० को कार्यान्वयन गर्न सरकारलाई दबाब दिने उद्देश्यले राष्ट्रिय कार्ययोजना बनाएर काम गरिरहेको पनि जुलियाण्डले बताइन् ।

जुलियाण्डसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अधिकारीले सरकारले न्याय नदिएसम्म आफु लडिरहने बताइन् । उनले नौं वर्षसम्म पनि आफूलाई सरकारले न्यायका नदिएकोप्रति असन्तुष्टी जनाइन् । सरकारले केही संचार माध्यममा गंगामायाले पैसा मागिन् भनेर आफ्नो गलत प्रसार गरेकोप्रति उनको असन्तुष्टि छ । अधिकारीले भनिन्, मलाई पैसा होइन न्याय चाहिएको हो ।

प्रतिक्रिया