सोमबार, असार ३२, २०८१

चीनमा कोरोनाका कारण मर्नेको संख्या ४९० पुग्यो, २० देशमा भाइरसको संक्रमण

नेपालखोज २०७६ माघ २२ गते ८:५४

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ । चीनको स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार हिजो मंगलबार थप ६५ जनाको ज्यान गएको जनाएको छ ।

मन्त्रालयका अनुसार एक दिनमा थप ३ हजार ९ सय ७१ जनामा थप भाइरसको संक्रमण भेटिएको जनाएको छ । थप मृत्यु हुने ६५ जना नै वुहान प्रान्तका रहेका छन् । आज सार्वजनिक भएको तथ्यांकमा ४ सय ३१ जना गम्भीर बिरामी रहेका छन् ।

अस्पातलबाट २ सय ६२ जना उपचारपछि घर फर्किसकेका छन् । समग्रमा अहिलेसम्म २४ हजार ३ सय २४ जना बिरामी रहका छन् । ति मध्ये २३ हजार २ सय ६० जनामा भाइरस पुष्टि भएको छ ।

अहिले सम्म चीनमा २ लाख ५२ हजर १ सय २४ जनामा भाइरसको संक्रमणको शंका रहेको भन्दै १ लाख ८५ हजार ५ सय ५५ जना प्रत्यक्ष निगरानीमा रहेका छन् । पहिलो पटक चीन बाहिर फिलिपिन्समा १ जना र हङकङमा १ जनाको ज्यान गएको छ । नेपालसहित छिमेकी भारत र अन्य २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ ।

प्रतिक्रिया