बुधबार, असोज १०, २०८०

बागलुङमा कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च

नेपालखोज २०७६ माघ २४ गते ११:०५

२४ माघ, बागलुङ । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ ।

जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३८० र रु ४०० प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४४० पुगेको छ ।

कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् ।

कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३०० मा खरीद गर्नु परेको मासु व्यवसायी कृष्ण जिसीले बताए ।

जिउँदो कुखुरालाई रु ३०० मा खरीद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उहाँले जानकारी दिए । त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९०० प्रतिकेजी खसी÷बोकाको मूल्य माघ १९ गते देखि ९५० पुगेको हो ।

प्रतिक्रिया