बिहीबार, असोज ४, २०८०

फागुन ३ गते चीनबाट नेपालीलाई ल्याउने मन्त्रिपरिषदको निर्णय, क्वारेन्टाइनमा राख्न १ सय ९९ बेड तयार

नेपालखोज २०७६ माघ २८ गते १८:१६

काठमाडौँ। सरकारले १ सय ९९ वटा क्वारेन्टाइन वेड तयार पारेको छ । चीनको वुहानबाट ल्याइने नेपालीलाई राख्न वेड तयार गरिएको हो ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा गराएको जानकारी अनुसार कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारिएको छ ।

यस्तै नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम समेत सरकारले दिएको छ । चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक नेपाल ल्याउने र विमानस्थलमा स्वास्थ्य जाँच गरेर सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।

विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने छ । सरकारले कोरोना भाइरस संक्रमित भैहाले उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।

चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र संक्रमण नभएको पुष्टि भएपछि मात्र घर जान दिइने तयारी सरकारको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चीनबाट नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने निर्णय गरेको छ । उद्धारका लागि करिब १२ करोड रुपैयाँ अनुमानसहित बजेट पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया