शुक्रबार, असोज ५, २०८०

नेपाली विद्यार्थी ल्याउन वाइडबडी आज चीन प्रस्थान हुने, हवाई सेवा १२ घण्टा अवरुद्ध

नेपालखोज २०७६ फागुन ३ गते ७:३०

काठमाडौँ। सरकारले चीनको कोरोना प्रभावित क्षेत्र वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धारका आज विमान पठाउँदै छ । पाकिस्तानी पाइलटको कमान्डमा नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाज आज दिउँसो पौने तीन बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।

नेपाल वायुसेवा निगमको अनुसार चीनबाट आइतबार राति साढे २ बजे फिता हुने सेड्युल तय भएको छ । हुवेई प्रान्तका विभिन्‍न शहरबाट १ सय ८५ नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन् । उनीहरूलाई विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो ।

चीन जाने विमान चालक र अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष तालिम दिइसकेको छ । मन्त्रालयको अनुसार नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजका चालक दलका १६ सदस्यसहितको टोलीलाई तालिम दिइएको छ ।

चीन जाने टोलीमा तीनजना विमान चालक, ६ जना क्याबिन क्रू, दुईजना इन्जिनियर, १—१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।

विमानस्थल १२ घण्टा अवरुद्ध हुने

शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ । त्यसैका लागि विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको हो ।

प्रतिक्रिया