सोमबार, असार ३२, २०८१

फुर्सदका दिन मनोरञ्जन र पारिवारिक वातावरणका साथ घुम्न उपयुक्त ठाउँ !

नेपालखोज २०७६ फागुन ३ गते ७:४९

काठमाडौँ । सहरमा खादिएर बनेका घर अनि सकसमै भएपनि तिनै घरका गल्ली—गल्लीबाट हिड्नु पर्ने बाध्यता छ काठमाडौँमा । यहि बाध्यताले दैनिकी समेत सकसमै चल्ने गर्छ । त्यसैले साघुँरो ठाउँमा निसास्सिएर बसेका हर कोहीले कहिले काहि भएपनि केही खुल्ला ठाउँ र पारिवारिक वातावरणको खोजी गरिरहेका हुन्छन् । तर, कहाँ पाउने यस्तो ठाउँ रु कहाँ छ खुल्ला, रमाईलो र पारिवारिकपन रु तपाईपनि यहि सोचिरहनुभएको छ भने काठमाडौँ भृकुटीमण्डपस्थित फनपार्क एक उपयुक्त ठाउँ हुन सक्छ । जसको नाममै फन छ, त्यहाँ रमाइलो अर्थात मनोरञ्जन त हुने नै भयो ।
यहाँ हरेक दिन मनोरञ्जन र पारिवारिक वातावरणमा रमाईलो गर्न आएकाहरुको भिड देखिन्छ । प्रायः सबै उमेर समूहका मानिस भेट्टिने यो पार्कमा पारिवारिक र स्वस्थ वातावरण रहेको देखिन्छ । विसं २०६९ मा थप प्रवद्र्धन र व्यवस्थित गरी यो पार्कलाई फनपार्क भन्न थालिएको हो ।

पार्कका व्यवस्थापक बोधराज कट्टेल भन्छन्, “पूर्णरूपमा व्यापार नभएर मुख्य उद्देश्य मनोरञ्जन सेवा प्रवाहित गर्ने, धूमपान तथा मद्यपान निषेध गरी स्वास्थ्यमा ध्यान दिने हाम्रो मुख्य लक्ष्य हो । पार्कले मनोरञ्जनका माध्यमबाट मानिसलाई खुशी र सन्तुष्ट राख्ने चेष्टा पनि गर्दछ ।” सुरक्षाको राम्रो प्रबन्ध रहेको पार्कमा मानिस हरियाली र शान्त वातावरण अवलोकन गर्दै अध्ययन गर्न पनि आउने गर्दछन् । असहाय र अपाङ्गलाई मनोरञ्जनको पहुँच सजिलै नहुने भएकाले उनीहरुलाई विशेष सुविधा रहेको छ भने पार्कको वातावरण अपाङ्गमैत्री पनि छ ।

पार्क खुला क्षेत्रमा भएको र स्थानका हिसाबले पनि राम्रो भएकाले प्रायः निकै व्यस्त देखिन्छ । यो पार्कले साथीभाइबीच राम्रो सम्बन्ध स्थापित गर्न, सामाजिक हुन र संस्कृति साटासाट गर्न धेरै हदसम्म सहयोग गरेको छ । पार्कमा वयष्कको प्रवेश शुल्क रु ६० रहेको छ । विद्यार्थी तथा बालबालिकाका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट रहेको छ तर विद्यार्थी सहुलियतका लागि विद्यार्थी परिचयपत्र अनिवार्य रहेको छ । सत्तरी वर्षमाथिका वृद्धा, तीन वर्षमुनिका बालक र अपाङ्गलाई प्रवेश छुट रहेको छ । यहाँ घरबाट ल्याएको खानेकुरा पनि खान सकिने तथा जति समय पनि पार्कमा व्यतित गर्न सकिने हुनाले अन्यत्र जाँदा हुने अनावश्यक खर्च कटौती हुने गर्दछ । शान्तिनगरबाट आएका ओसन खड्का भन्छन्, “धेरैपछि साथीसँग एकछिन कुराकानी गरौँ र ‘मुड फ्रेस’ गरौँ भनेर आएको हो ।” उनी हाँस्दै भन्छन्, “अन्य ठाउँमा भन्दा खर्च पनि कम लाग्ने रहेछ र विद्यार्थीलाई विशेष छुट रहेछ ।” पार्कमै आफ्नै नातिनातिनीसँग रमाउँदै बसेकी हजुरआमाले आफू घरका सदस्यसँग समय बिताउन आएको बताइन् । निःशुल्क प्रवेशका कारण उनी निकै खुशी देखिन्छिन्।

मानिस आफ्नो स्वविवेक र अनुकूल समयमा आउने हुनाले के, कति व्यक्ति कुन प्रयोजनका लागि आउँछन् भन्नेबारे ठ्याक्कै भन्न नमिल्ने व्यवस्थापक कट्टेलले बताउँछन् । । उनका अनुसार आगामी दिनमा प्राकृतिक प्रकोप तथा मानवीय कारण (कोरोना भाइरसको असर हुनसक्ने) ले प्रत्यक्ष असर पर्ने हुँदा चापमा कमी हुनसक्छ । खुला ठाउँमा हावापानी र घामले प्रभाव पार्ने हुँदा पनि मानिस नआउने सम्भावना देखिन्छ । आगामी दिनमा निरन्तररूपमा सरसफाइ, सबैखाले खेल र बालबालिकालाई विशेष ध्यान दिने रणनीति रहेको उनले बताए ।

प्रतिक्रिया