चीनबाट उद्धार गरिएका नेपालीलाई खरिपाटी ल्याएपछि नगरप्रमुख मिश्रले भने, ‘स्थानीयहरुको स्वास्थ्य जाँचका लागि छुट्टै हेल्थ डेक्स चाहिन्छ’
भक्तपुर । चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुलाई खरिपाटी राखिएपछि चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले स्थानीयहरु सुरक्षाको लागि छुट्टै हेल्थ डेस्क माग गरेका छन् ।
क्वारेन्टाइनमा बस्नेहरुको लागि हरेक दिन स्वास्थ्य जाँच गर्दा त्यहाँका स्थानीयहरुको पनि स्वास्थ्य जाँच गर्नुपर्ने उनको माग रहेको छ ।
उनी यसअघि आफ्नो क्षेत्रका जनताहरुको सुरक्षाको लागि क्वारेण्टाइन स्थल खरिपाटीमा बनाउन नहुने भन्दै विरोध गरेको बताउँछन् । उनले भने, ‘यहाँ राख्नै दिन्नौ भन्दा पनि, अन्त नराखिकन किन यहाँ राखियो र यहाँको जनताहरुको सुरक्षा के हुन्छ ? भनेर सरकारलाई प्रश्न गरेको हो।’
सरकारले स्थानीयहरुसँग सल्लाह नगरी र काउन्सिलिङ नगरी खरिपाटीमा राख्ने निर्णय गरेकाले विरोध गरेको बताउँदै उनी सोध्छन्, ‘नेपालीहरु नै हुन्, बसुन् तर त्यहाँको स्थानीयहरुलाई केही भयो भने त्यसको जिम्मा सरकाले लिने कि नलिने ?’
अहिले पनि स्थानीयहरुको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने अडान नछाडेको उनी सुनाउँछन्। खरिपाटीका स्थानीयहरुको लागि आजैबाट सरकारले त्यहीँ निःशुल्क हेल्थ डेस्क स्थापना गर्नुपर्ने पनि उनको माग छ।
स्थानीयहरु अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको बताउँछन्। भन्छन्, ‘सरकारले आजैबाट त्यहाँ निःशुल्क हेल्थ डेस्क राखेर जाँच गरेदेखि स्थानीहरुको डर घट्थ्यो।’
सरकारले आज एक १७५ जना नेपालीलाई ल्याएर क्वारेण्टाइनमा राखेको छ। अबको १४ दिन उनीहरु निगरानीमा रहनेछन् भने आफन्त तथा परिवारसँग भेट्न पाउने छैनन्।
प्रतिक्रिया